प्रहार समाचार । तनहुँ, ९ फागुन २०८२ शनिबार । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ–१ बाट उम्मेदवारी दिएका मन्जिल रानाले जीवन भोगाइबाट जन्मिएको घोषणापत्र सार्वजनिक गरेका छन्। ‘तनहुँको पीडा किताबमा होइन, आफ्नै आँखाले देखेको छु’ भन्ने मूल सन्देशसहित सार्वजनिक घोषणापत्रमा उनले किसान, उपभोक्ता, शिक्षा, रोजगारी र पर्यटनलाई एउटै शृङ्खलामा जोडेर आफ्नो दृष्टिकोण अघि सारेका छन्।

रानाले सहरका उपभोक्ता र गाउँका किसान दुवै ठगिइरहेको यथार्थ औंल्याएका छन्। “ठूला सहरमा शुद्ध भैंसीको दूध, विषादीरहित तरकारी र लोकल कुखुरा खोज्ने उपभोक्ता अधिकांश समय ठगिन्छन्। अर्कोतर्फ, गाउँमा साँचो उत्पादन गर्ने किसानले उचित मूल्य पाउँदैनन्,” उनले भने। यसको समाधानका रूपमा उनले तनहुँका कुखुरा, सुन्तला र कागतीजस्ता उत्पादनलाई मूल स्थान खुल्ने गरी ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यसले किसानलाई न्याय र उपभोक्तालाई विश्वास दिने उनको दाबी छ।

मन्त्री होइन, सक्षम प्रतिनिधि छान्न आग्रह :
रानाले अहिले “मन्त्री को बन्छ भन्ने होइन, कसले हाम्रो आवाज संसदमा लैजान सक्छ भन्ने” कुरा मुख्य भएको बताएका छन्। “मन्त्री को बन्ने निर्णय निर्वाचनपछि संसदले गर्छ। अहिले जनताले आफ्नै क्षेत्रको वास्तविक समस्या बुझ्ने प्रतिनिधि छान्नुपर्छ,” उनले स्पष्ट पारे। हालका राष्ट्रपति जन्माएको जिल्ला भए पनि तनहुँमा आजसम्म आईसीयू सुविधा भएको अस्पताल र पर्याप्त सार्वजनिक कलेज नहुनु लज्जास्पद भएको उनको टिप्पणी छ। यही कारणले शिक्षा, स्वास्थ्य र रोजगारीका लागि युवाहरू काठमाडौं, पोखरा र चितवन जान बाध्य भएको उनले बताए।

शिक्षा र रोजगारीमा नीतिगत सुधारको आवश्यकता :
शिक्षा क्षेत्रबारे रानाले सरकारी विद्यालयको गुणस्तर सुधारलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। विकसित देशमा बोर्डिङभन्दा सरकारी विद्यालय नै प्राथमिक रोजाइ हुने उदाहरण दिँदै, तालिम प्राप्त शिक्षक र प्रारम्भिक बाल शिक्षामा विशेष ध्यान दिनुपर्ने उनले बताए। साथै, बोर्डिङ विद्यालयहरूले पुर्याएको योगदानलाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ छ।
रोजगारीका लागि गल्फ मुलुक जानुपर्ने बाध्यतालाई उनले राष्ट्रिय नीतिको असफलता ठहर गरेका छन्। “रेमिट्यान्सले अर्थतन्त्र धानेको छ, तर परिवारबाट टाढा रहनु खुशी होइन,” भन्दै उनले आफ्नै जिल्लामा अवसर सिर्जना गर्न सकिने नीति आवश्यक रहेको बताए।

बन्दीपुर केन्द्रित एकीकृत पर्यटन सर्किट :
पर्यटन क्षेत्रमा रानाले बन्दीपुरलाई तनहुँको मुख्य पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेका छन्। साथै भानु, देवघाट, व्यास र आबुखैरेनीका होमस्टेहरूलाई एउटै पर्यटन मार्गमा जोड्नुपर्ने उनको योजना छ। “हिमालका बेसक्याम्प पुग्न नसक्ने पर्यटकका लागि तनहुँका सजिलै पुगिने डाँडाकाँडा, संस्कृति र जीवनशैली नै ठूलो आकर्षण हुन्,” उनले भने।

काम गरेर देखाउने नेतृत्वको दाबी :
रानाले काम गरेर देखाउने नेतृत्वको उदाहरणका रूपमा कुलमान घिसिङलाई स्मरण गरेका छन्। “लोडसेडिङ अन्त्य गरेर देश उज्यालो बनाउने नेतृत्वले प्रमाणित गर्यो कि जात, भाषण वा वाचाभन्दा काम ठूलो हुन्छ,” भन्दै उनले आफू पनि त्यही शैलीको कर्मठ नेतृत्व दिन चाहेको बताए। उनले उज्यालो नेपाल पार्टीप्रति विश्वास रहेको जनाएका छन्।
समग्रमा, मन्जिल रानाको घोषणापत्र ‘जहाँको मतदाता, त्यहीँको उम्मेदवार’ भन्ने अवधारणामा आधारित देखिन्छ। ठूला नाराभन्दा स्थानीय समस्या र व्यवहारिक समाधानलाई प्राथमिकतामा राखिएको यो घोषणापत्रले तनहुँ–१ मा फरक खालको राजनीतिक बहस सुरु गराएको



























