हेडलाईनसमाचारगण्डकीघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकी

जेन–जीको आक्रोश संसदमा पुर्‍याउने प्रतिबद्धता सहित नेका तनहुँ–२ का उम्मेदवार भण्डारीको जनतामा अपिल

प्रहार समाचार । तनहुँ, ९ फागुन २०८२ शनिबार । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा तनहुँ क्षेत्र नं. २ मा चुनावी बहसले नयाँ दिशा लिएको छ। नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार शंकर भण्डारीले यसपटकको निर्वाचनलाई सामान्य प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई देशको दिशा परिवर्तन र नयाँ पुस्ताको भविष्य तय गर्ने निर्णायक मोडका रूपमा व्याख्या गर्दै मतदातासमक्ष प्रतिबद्धता सार्वजनिक गरेका छन्।

मतदातालाई लक्षित आज शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजित पत्रकार सम्मेलन मार्फत भण्डारीले विगतमा शासन सत्तामा रहेका दलहरूप्रति जनतामा देखिएको असन्तुष्टि, आक्रोश र प्रश्नहरूलाई स्वाभाविक ठहर गर्दै त्यसबाट भाग्ने होइन, उत्तर दिने साहस बोकेर राजनीति गर्ने बताएका छन्। “जनताको असन्तोष दबाएर होइन, त्यसलाई नीतिगत एजेन्डामा रूपान्तरण गरेर संसदमा उठाउने मेरो प्रतिबद्धता हो,” उनले उल्लेख गरेका छन्।


उनले गएको भदौ २३ गते सडकमा देखिएको जेन–जी (Gen Z) आन्दोलनलाई केवल क्षणिक आक्रोश नभई वर्षौंदेखि थुप्रिँदै आएको बेथितिविरुद्धको चेतनायुक्त आवाजको रूपमा व्याख्या गरेका छन्। सुशासन, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रताको मागसहित उठेको आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाउनुपरेको घटनालाई अत्यन्त दुःखद र निन्दनीय भन्दै भण्डारीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको निःशुल्क उपचारको माग सरकारसँग गरेका छन्।
भण्डारीले आफू जेन–जी आन्दोलनको मर्म बुझ्ने उम्मेदवार भएको दाबी गर्दै “आक्रोशलाई जोश र होसको उर्जामा बदल्दै संसदमा आवाज बनाउने” वाचा गरेका छन्। उनका अनुसार नयाँ पुस्ताले खोजेको सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासन स्थापना गर्नु नै अबको मुख्य राजनीतिक कार्यभार हो।
उनले आजको नेपाली कांग्रेस विगतको भन्दा फरक, आत्मसमीक्षा गरिरहेको र सुधारको बाटोमा अघि बढेको पार्टी भएको दाबी गरेका छन्। विशेष महाधिवेशनपछि पार्टीभित्र नयाँ नेतृत्व, नयाँ सोच र एकताको वातावरण बनेको भन्दै अब राज्य सञ्चालनमा नातावाद होइन, योग्यता, ढिलासुस्ती होइन छिटोछरितो सेवा, भागबण्डा होइन मेरिटोक्रेसी लागू गरिने बताएका छन्। भण्डारीको अपिल पत्र :


भण्डारीले प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै फास्ट ट्रयाक सेवा प्रणाली लागू गर्ने, इ–गभर्नेन्समार्फत डिजिटल सेवा विस्तार गर्ने र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। साथै विदेशमा रहेका नेपालीहरूको व्यवस्थित अभिलेखीकरण गरी उनीहरूको मताधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्ने विषयलाई पनि आफ्नो एजेन्डामा राखेका छन्।


२०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको पहलमा तनहुँ क्षेत्र नं. २ मा केही विकास आयोजना सम्पन्न भइसकेका र केही निर्माणाधीन अवस्थामा रहेको उल्लेख गर्दै भण्डारीले अधुरा काम पूरा गर्ने र नयाँ आवश्यक पूर्वाधार निर्माणलाई गति दिने बताएका छन्।

उनका अनुसार यसपटकको उम्मेदवारी केवल व्यक्तिगत राजनीतिक आकांक्षा नभई युवाको सपना कार्यान्वयन, क्षेत्रको विकास, राष्ट्रिय एकता सुदृढीकरण र नयाँ पुस्ताबीचको भरोसा पुनःस्थापना गर्ने उद्देश्यले अघि बढाइएको हो। “यो चुनाव जित–हारको मात्र प्रश्न होइन, देशलाई कुन दिशामा लैजाने भन्ने निर्णयको क्षण हो,” भण्डारीको अपिल छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै तनहुँ क्षेत्र नं. २ मा चुनावी माहोल क्रमशः विकास, सुशासन र युवा केन्द्रित बहसतर्फ मोडिँदै गएको देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button