हेडलाईनव्याससमाचारगण्डकी

ह्विलचियरले रोकेन सपना: २३ वर्षको पीडाबाट छोरीहरूको उडानसम्म बुद्धिकुमारको कथा

• ईश्वर बास्तोला । प्रहार समाचार । तनहुँ, ८ फागुन २०८२ शुक्रबार । व्यास नगरपालिका–६, सेखाटारका बुद्धिकुमार श्रेष्ठको जीवन संघर्ष, धैर्य र आत्मविश्वासको उदाहरण बनेको छ। २३ वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेका उनी एउटा भीषण दुर्घटनापछि दुवै खुट्टा गुमाएर ह्विलचियरमै नेपाल फर्किए। शारीरिक रूपमा अशक्त भए पनि उनका सपना कहिल्यै थलिएनन्।

दुर्घटनापछि सुरुका दिनमा उनले समाज र परिस्थितिको दोहोरो पीडा भोगे। “पैसा हुँदा र नहुँदा मानिसले गर्ने व्यवहार कति फरक हुँदो रहेछ,” विगत सम्झिँदै श्रेष्ठ भन्छन्। आर्थिक अभाव, अरूमाथिको निर्भरता र मानसिक तनावले उनलाई थिच्यो। तर, उनले हार मानेनन्। आज पनि उनी ह्विलचियरमै बसेर घरधन्दा, भान्सा सम्हाल्ने र बाख्रालाई घाँस–कुँडो गर्ने काम आफैँ गर्छन्।
चार सन्तानका बाबु श्रेष्ठका दुई छोरी हाल स्पेन र दुबई मा छन्। कान्छी छोरी प्रीतिलाई जापान पठाउने अवसर आउँदा १७ लाख रुपैयाँ खर्च जुटाउनु ठूलो चुनौती थियो। बैंकको झन्झटिलो प्रक्रियाभन्दा उनले गाउँले र इष्टमित्रको विश्वास रोजे। उनको इमानदारिता देखेर गाउँलेहरूले १७ लाख मात्र होइन, ३० लाखसम्म ऋण दिन तयार भए।


छोरीलाई हाँसीहाँसी जापान उडाएका श्रेष्ठले जम्मा ११ महिनामै सबै ऋण तिरे। “ऋण सकिँदा घाँटीमा अड्किएको माछाको काँडा निस्किएजस्तो भयो,” उनी खुसी व्यक्त गर्छन्। हिजो शंका गर्ने छिमेकीहरू आज उनको हिम्मत र आत्मविश्वासको खुलेर प्रशंसा गर्न थालेका छन्।
अपाङ्गता अधिकारकर्मीहरूका नजरमा पनि श्रेष्ठ प्रेरणाको प्रतीक बनेका छन्। उनीहरू भन्छन्, “आफ्नै खुबी चिन्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरा बुद्धिकुमारजीले प्रमाणित गर्नुभएको छ।” कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनेका उनी आज धेरैका लागि उदाहरण हुन्।


हाल ‘ख’ वर्गको निलो परिचयपत्र वाहक श्रेष्ठको बाँकी एउटा मात्रै चाहना छ—कक्षा १२ मा पढिरहेका छोरा विवेकको भविष्य सुरक्षित बनाउने। स्कुटर किन्ने इच्छा भए पनि गाउँको कच्ची र जोखिमपूर्ण बाटोले त्यो सपना अझै अधुरै छ। शारीरिक रूपमा ‘अति अशक्त’ भए पनि छोराछोरीको भविष्यका लागि ‘अति सशक्त’ बनेका बुद्धिकुमार श्रेष्ठ भन्छन्, “संघर्ष गरें, तर कहिल्यै हिम्मत हारिन ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button