प्रहार समाचार । तनहुँ, २५ माघ २०८२ आइतबार । व्यास नगरपालिका नगर कार्यपालिकाको २३१ औँ बैठक सम्पन्न भएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल , वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखाका कर्मचारीहरूको उपस्थितिमा नगरका समसामयिक विषयमा समिक्षा र महत्वपूर्ण निर्णयहरू भएका छन्। अघिल्लो २३० औँ बैठकका निर्णय र कार्यालयको सेवा प्रवाहबारे समेत बैठकमा छलफल गरिएको छ।

बैठकले माघ १६ गते शहिद दिवसको अवसरमा आयोजना गरिएको ४४ किलोमिटर अल्ट्राम्याराथन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। व्यास–५ मानुङ्गकोटदेखि व्यास–८ पुलिमराडसम्म सञ्चालन भएको उक्त प्रतियोगिताबाट आएको आम्दानी र खर्चको विवरण अनुमोदन गर्दै सम्बन्धित समिति, टोल विकास संस्था, आमा समूह, सञ्चारकर्मी र कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरिएको छ। नगरपालिकाले यस्तो कार्यक्रमले नगरको पहिचान बढाउन सहयोग पुगेको जनाएको छ।
यसैगरी, आ.व. २०८२/०८३ को संशोधित बजेट कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्दै हालसम्म ४२ प्रतिशतभन्दा बढी आय संकलन भइसकेको र कुल खर्च करिब ३० प्रतिशत पुगेको जानकारी बैठकमा प्रस्तुत गरिएको छ। चालुतर्फ खर्च तुलनात्मक रूपमा अगाडि देखिए पनि पूँजिगत खर्च अझै कमजोर रहेको भन्दै आगामी दिनमा योजना कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिइएको छ। दोस्रो त्रैमासिक समिक्षा बैठक यही माघ २९ गते गर्ने निर्णय पनि गरिएको छ।
बैठकले वडा सिमाना हेरफेर र भौगोलिक संरचना अध्ययनका लागि समिति गठन समेत गरेको छ। ग आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै फाल्गुणभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। साथै नगरभित्र सरसफाइ, निषेधित प्लाष्टिक नियन्त्रण र सडक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरवासी र व्यवसायीको सक्रिय सहयोग आवश्यक रहेको भन्दै नगरपालिकाले सबैलाई सहकार्यका लागि आग्रह गरेको छ।

























