प्रहार समाचार । तनहुँ, २५ माघ २०८२ आइतबार । फोटो पत्रकारितामार्फत समाजको कथा बोल्ने स्व. शेष मोहम्मद हनिफ (गोरा मियाँ) को योगदानलाई जीवित राख्ने उद्देश्यसहित नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ।

मियाँको निधनपछि चौथो दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा शाखाका अध्यक्ष डिपी अधिकारीले ‘स्व. शेष मोहम्मद हनिफ (गोरा मियाँ) फोटो पत्रकारिता स्मृति पुरस्कार’ स्थापना गरिने जानकारी गराए। फोटो पत्रकारितामा मियाँले पु¥याएको योगदानलाई चिरस्थायी बनाउने लक्ष्यसहित उक्त निर्णय गरिएको अध्यक्ष अधिकारीले बताए।

२०८२ माघ २१ गते ६४ वर्षको उमेरमा दिवङ्गत भएका मियाँ फोटो पत्रकार महासङ्घ नेपालको केन्द्रीय अध्यक्षसमेत भइसकेका थिए । २०१८ वैशाख ६ गते जन्मिएका मियाँले पत्रकारितासँगै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहँदै समाजसेवामा पनि उल्लेखनीय भूमिका खेलेका थिए। उनका तस्वीरहरू मात्र होइन, पत्रकारिताप्रतिको निष्ठा र समर्पण पनि सधैं स्मरणीय रहने सहकर्मीहरूको भनाइ थियो।

श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष अधिकारीले मियाँको निधनले समाजले एक असल र सेवाभावी व्यक्ति गुमाएको र सञ्चार क्षेत्रले इमानदार, कर्मठ तथा समर्पित पत्रकार गुमाएको उल्लेख गरे ।

श्रद्धाञ्जली सभामा महासङ्घका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्षहरू ओमकार आचार्य र प्रकाशचन्द्र भट्टराई, पूर्व उपसभापति शंकरराज नहर्की, प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार (विवि) श्रेष्ठ, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिव एसवि नेपालीलगायत शाखाका पदाधिकारी, सदस्य र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। गोरा मियाँको नाममा स्थापना हुने स्मृति पुरस्कारले आगामी पुस्ताका फोटो पत्रकारलाई प्रेरणा दिने अपेक्षा गरिएको छ।



























