प्रहार समाचार । तनहुँ, २५ माघ २०८२ आइतबार । चुनाव नजिकिंदै जाँदा व्यास नगरपालिका–४ का निवर्तमान वडा अध्यक्ष विश्व न्यौपाने अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। न्यौपानेको प्रवेशलाई लिएर तनहुँको राजनीतिक वृत्तमा चासो बढेको छ।

व्यास नगर सभापति चुडामणि दाहलले न्यौपानेको आधिकारिक सदस्यता कार्ड सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत स्वागत गरेका छन्। दाहलले सार्वजनिक गरेको विवरणअनुसार न्यौपानेले रास्वपाको केन्द्रीय कार्यालय, काठमाडौंबाट सदस्यता लिएका हुन्।
न्यौपानेको राजनीतिक यात्रा भने स्थिर छैन। उनी सुरुमा नेपाली कांग्रेसमा सक्रिय थिए। तर स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षको टिकट नपाएपछि रातारात एमाले प्रवेश गरेका न्यौपानेले सोही पार्टीबाट चुनाव जित्दै वडा अध्यक्ष को कुर्चीमा समेत पुगेका थिए । कार्यकाल सकिएपछि भने उनी एमालेमा पनि कुनै जिम्मेवारीमा देखिएनन्।
अब उनी तेस्रो राजनीतिक गन्तव्यका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। रास्वपाले पुराना दलबाट असन्तुष्ट नेताकार्यकर्तालाई आकर्षित गरिरहेका बेला न्यौपानेको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। रास्वपाको परिचय पत्रअनुसार विश्व न्यौपानेको सदस्यता नम्बर तनहुँ १ क ०००२२७१६९ रहेको छ। उनको सदस्यता आज माघ २५ गते कै छ।
स्थानीय तहमा प्रभाव राख्ने व्यक्तित्वका रूपमा चिनिएका न्यौपानेको यो निर्णय व्यक्तिगत असन्तुष्टि कि दल परिवर्तन गरिरहने चरित्रको खोजी ? भन्ने प्रश्नले तनहुँको राजनीतिलाई फेरि तताएको छ।

























