
‘विश्वेश्वरप्रसाद कोइरालाको विचार सधैँ लोकतान्त्रिक प्रक्रिया, आन्तरिक बहस, वैचारिक स्पष्टता र जनताप्रतिको उत्तरदायित्वसँग जोडिएको थियो। आज प्रश्न उठ्छ—के यी मूल्यहरू संस्थापन पक्षले बोकिरहेको छ ? कि त ती मूल्यहरू केवल भाषण र इतिहासका पुस्तकमा सीमित भएका छन् ?
यस किसिमका दुविधायुक्त र अन्योलपूर्ण निर्णयहरूले पार्टी पंक्तिमा गहिरो असहजता पैदा गरेको छ।’ भन्दै होम बस्नेत लेख्छन् :
नेपाली काँग्रेस आज गम्भीर वैचारिक र संगठनात्मक संकटको दोसाँधमा उभिएको छ। प्रश्न सरल तर गहिरो छ—कसलाई विश्वास गर्ने ? कुन धारले विश्वेश्वरप्रसाद कोइरालाको विचारको वास्तविक प्रतिनिधित्व गर्छ ? र कार्यकर्ताले अब “नेपाली काँग्रेस” भनेर कुन पक्षलाई आफ्नो ठान्ने ?
पार्टीभित्र देखिएको पछिल्लो अवस्थाले यी प्रश्नहरूलाई अझ तीव्र बनाइदिएको छ। २०८२ भदौ २३/२४ तिर निम्तिएको राजनीतिक घटनाक्रम आकस्मिक थिएन, यो लामो समयदेखि पार्टीभित्र गुम्सिँदै आएको असन्तुष्टि र नेतृत्वको अकर्मण्यताको परिणाम हो भन्ने कुरा अब छर्लङ्ग भइसकेको छ। एकातिर बदलिँदो समाज र राजनीति, विशेषगरी Gen Z ।पुस्ताका सवाल र अपेक्षालाई सम्बोधन नगरी अघि बढ्न नसकिने अवस्था छ भने अर्कोतिर पार्टी स्वयं संस्थापन र असन्तुष्ट पक्षमा विभाजित देखिन्छ।
विडम्बना के छ भने आजको यथार्थमा “असन्तुष्ट” भनिएको पक्षभन्दा बढी संस्थापन पक्ष नै पार्टीको धरातलबाट विचलित देखिन्छ। पार्टीलाई विधान, परम्परा र संगठनात्मक मर्यादाभित्र राखेर अगाडि बढाउनुपर्ने नेतृत्व स्वयंले नै त्यसको अवज्ञा गरिरहेको अनुभूति कार्यकर्ता तहमा व्यापक छ। यसको स्पष्ट उदाहरण हो—फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने मागसहित ५४ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेको वैधानिक आवाजलाई बेवास्ता गर्दै अनावश्यक बखेडा झिकिनु।
विश्वेश्वरप्रसाद कोइरालाको विचार सधैँ लोकतान्त्रिक प्रक्रिया, आन्तरिक बहस, वैचारिक स्पष्टता र जनताप्रतिको उत्तरदायित्वसँग जोडिएको थियो। आज प्रश्न उठ्छ—के यी मूल्यहरू संस्थापन पक्षले बोकिरहेको छ ? कि त ती मूल्यहरू केवल भाषण र इतिहासका पुस्तकमा सीमित भएका छन् ?
यस किसिमका दुविधायुक्त र अन्योलपूर्ण निर्णयहरूले पार्टी पंक्तिमा गहिरो असहजता पैदा गरेको छ। कार्यकर्ता मात्र होइन, परम्परागत मतदाता समेत अब मौन तर गम्भीर समीक्षा गरिरहेका छन्। यद्यपि अन्ततः मतदाताले मत हाल्दा आफ्नो विवेक प्रयोग गर्ने नै छन्, तर पार्टीले त्यो विवेक जित्न सक्ने अवस्था बनाएको छ कि छैन भन्ने प्रश्न सबैभन्दा महत्त्वपूर्ण बनेको छ।
नेपाली काँग्रेस यदि साँच्चै बीपीको विचारसँग मेल खान चाहन्छ भने उसले शक्ति संघर्ष होइन, वैचारिक स्पष्टता रोज्नुपर्छ। पुस्तान्तरणको कुरा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। विधानको सम्मान र आन्तरिक लोकतन्त्रको अभ्यास बिना पार्टी पुनः विश्वासको केन्द्र बन्न सक्दैन।
आज नेपाली काँग्रेसलाई चाहिएको नयाँ नारा होइन, आत्मसमीक्षा हो। अन्यथा इतिहासले पटक–पटक दिएको चेतावनीलाई बेवास्ता गर्ने पार्टीका रूपमा काँग्रेस आफैँ आफ्ना मतदाताबाट टाढिँदै जानेछ।
• (तनहुँका बस्नेतको यो लेख हामीले उहाँको फेसबुक पेजबाट लिएर सम्पादन गरि प्रकाशित गरेका हौँ ।) सम्पादक


























