प्रहार समाचार । काठमाडौँ, २३ पुस २०८२ बुधबार । आगामी २४ घण्टामा तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी बिहान र रातिको समयमा हुस्सु बाक्लिने अनुमान गरिएको छ, जसका कारण दृश्यता घटेर यातायात तथा दैनिक गतिविधिमा असर पर्न सक्ने देखिन्छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तर तराईका अधिकांश स्थानमा भने दिनभर हुस्सु कायम रहने सम्भावना छ भने आज राति पनि यही अवस्था जारी रहने महाशाखाले जानकारी दिएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ। यसैका कारण तराई क्षेत्रमा चिसो र हुस्सु बढेको बताउँदै महाशाखाले यात्रु, चालक तथा सर्वसाधारणलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


























