प्रहार समाचार । तनहुँ, २३ पुस २०८२ बुधबार । जाडो मौसमसँगै बढेको चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटस्थित बेनीमित्र प्राथमिक विद्यालयले फरक र प्रेरणादायी अभ्यास थालेको छ। विद्यालय परिसर सेपिलो पाखामा पर्ने भएकाले घाम नलाग्ने समस्या देखिएपछि विद्यालयले विद्यार्थीलाई पारिलो घाम खोज्दै ऐतिहासिक तथा धार्मिक स्थल सिद्धबावा मन्दिर रहेको बेनीकोट डाँडासम्म लघु भ्रमणमा लगेपछि स्थानीयस्तरमै सकारात्मक सन्देश फैलिएको छ ।

विद्यालयबाट करिब ३० मिनेटको पैदल दूरीमा रहेको डाँडामा विद्यार्थीलाई घाम ताप्ने, स्वास्थ्य सन्तुलन बनाउने र स्थानीय धार्मिक–ऐतिहासिक महत्व चिनाउने उद्देश्यले भ्रमण गराइएको प्रधानाध्यापक किशोर सुनामले बताए। शिक्षक कविता आले र नरबहादुर थापाको मार्गदर्शनमा विद्यार्थीहरूलाई लाइनबद्ध र अनुशासित ढंगले पैदल हिँडाइयो। पारिलो घाममा बसेर न्यानोपन महसुस गर्न पाउँदा विद्यार्थीहरू उत्साहित देखिन्थे।

चिसोका कारण बालबालिका बिरामी भएर दमौली अस्पतालसम्म उपचार गराउनुपरेको गुनासो अभिभावकबाट आएपछि विद्यालयले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै दैनिक प्रार्थना समयमै पीटी खेलाउने अभ्याससमेत थालेको प्रधानाध्यापक सुनामले जानकारी दिए। बेनीकोट पाखामा जाडोभरि घाम नलाग्ने भएकाले स्थानीय बासिन्दासमेत घाम ताप्न डाँडातर्फ जाने गरेका छन्। “धोएको कपडा सुकाउन र न्यानो घाम ताप्न डाँडा आउनुपर्छ,” स्थानीय गणेश रानाले भने। शिक्षक ईश्वर बास्तोलाका अनुसार विद्यार्थीहरूलाई करिब एक घन्टा घाम तापेर फर्काइएको थियो।

यस घटनाले विद्यालय केवल कक्षा कोठाभित्र सीमित नहुने, स्थानीय परिवेश, स्वास्थ्य र संस्कृतिसँग जोडेर शिक्षा दिन सकिने सन्देश दिएको छ। चिसोको समस्यालाई सिर्जनात्मक उपायमार्फत समाधान गर्दै बेनीमित्र विद्यालयले बालमैत्री र व्यवहारिक शिक्षाको उदाहरण प्रस्तुत गरेको छ।

























