प्रहार समाचार । काठमाडौँ, १५ पुस २०८१ मंगलबार । नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालय च्यासल परिसरभित्र बेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ । पेस्तोल फेला परेपछि यसले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। नियमित सरसफाइका क्रममा पेस्तोल देखिएपछि तत्काल प्रहरीलाई खबर गरिएको र उक्त हतियार प्रहरीको जिम्मा लगाइएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले पेस्तोल प्राप्त भइसकेको पुष्टि गर्दै यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए। प्रारम्भिक रूपमा उक्त पेस्तोल प्रहरीकै हो वा अन्य कुनै व्यक्तिको भन्ने यकिन भइनसकेको र सबै सम्भावनालाई ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको उनले बताए।
राजनीतिक दलको केन्द्रीय कार्यालय जस्तो संवेदनशील स्थानमा हतियार भेटिनुले कार्यालय परिसरको सुरक्षा, निगरानी र पहुँच व्यवस्थाबारे प्रश्न उठाएको छ। घटनाबारे थप तथ्य संकलन तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



























