हेडलाईनसमाचारगण्डकी

लमजुङको मर्श्याङ्दी बेँसी हाइड्रो पुनः सञ्चालनको मागसँगै मतभेद चर्किँदै

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार ।लमजुङ, ६ पुस २०८२ आइतबार । लमजुङमा ५० मेगावाट क्षमताको मर्श्याङ्दी बेँसी जलविद्युत आयोजना पुनः सञ्चालन हुनुपर्ने माग गर्दै अति प्रभावित क्षेत्रका बासिन्दा खुलेर अगाडि आएका छन् दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेको यो आयोजना हाल बेसीशहरबासीको अवरोधका कारण ठप्प अवस्थामा पुगेको छ ।


बेसीशहर नगरपालिका–१० का अति प्रभावित क्षेत्रका बासिन्दाले प्रमुख जिल्ला अधिकारी र बेसीशहर नगरपालिकाका नगर प्रमुखसमक्ष ज्ञापनपत्र बुझाउँदै आयोजना तत्काल सञ्चालनमा ल्याउन माग गरेका हुन् । उनीहरूले आयोजनाको अवरोधले न स्थानीय विकास सम्भव भएको छ, न त मुलुककै ऊर्जा विकासमा योगदान पुग्न सकेको छ भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा जलविद्युत आयोजनाले अति प्रभावित क्षेत्रका बासिन्दाका समस्या र मागलाई सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता जनाइसकेको उल्लेख छ । सो प्रतिबद्धताका आधारमा आयोजना निर्माणमा आफूहरूको सहमति रहेको जनाउँदै, जिल्ला प्रशासनमार्फत निर्माण कार्य सुचारु गर्न आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।


‘जलविद्युत आयोजना मुलुक र जिल्लाको आर्थिक तथा समृद्धिको मेरुदण्ड हो । यस्तो आयोजना अवरुद्ध हुनु गम्भीर विषय हो’ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ‘कम्पनीले अति प्रभावित क्षेत्रका माग सम्बोधन गर्ने भनेकाले हामी आयोजना सञ्चालनमा सहमत छौं । प्रशासनले तदारुकता देखाए हामी साथमा रहनेछौं ।’


उक्त आयोजना बेसीशहर नगरपालिका–६ को बेलौती बिसौनामा जलाशय र बेसीशहर नगरपालिका–१० को सालडाँडामा विद्युत गृह रहने गरी निर्माणको तयारीमा रहेको छ । तर, अर्कोतर्फ बेसीशहरबासीहरूले भने ‘मर्श्याङ्दी बचाउ अभियान’ नै सञ्चालन गर्दै आयोजनाको विरोध जनाइरहेका छन् । उनीहरूले बेसीशहरस्थित आयोजनाको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्, जसका कारण निर्माण कार्य थप जटिल बनेको छ ।


एकातिर अति प्रभावित क्षेत्रका बासिन्दाले विकास र समृद्धिको आधार भन्दै आयोजना अघि बढाउन दबाब दिएका छन् भने अर्कोतिर बेसीशहरबासीको कडा विरोधले मर्श्याङ्दी बेँसी हाइड्रो विवादको केन्द्रमा पुगेको छ । अब यस विषयमा जिल्ला प्रशासन र सरोकारवाला निकायले कस्तो निर्णय लिन्छन् भन्नेमा आयोजनाको भविष्य निर्भर देखिएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button