हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको दमौलीका सामाजिक, राजनीतिक तथा निर्माण क्षेत्रका स्थापित न्यौपानेको निधन

प्रहार समाचार । तनहुँ, ६ पुस २०८२ आइतबार । तनहुँको सामाजिक, राजनीतिक तथा निर्माण क्षेत्रका स्थापित व्यक्तित्व रामचन्द्र न्यौपानेको निधन भएको छ। व्यास नगरपालिका–४, दमौली (मेनचोक) निवासी न्यौपानेको ६४ वर्षको उमेरमा आज विहान आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल तनहुँका पूर्व अध्यक्ष, निर्माण व्यवसायी संघ तनहुँका पूर्व अध्यक्ष, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समिति, राष्ट्रिय उपभोक्ता हित संरक्षण मन्च तनहुँ, तथा सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका न्यौपाने सामाजिक न्याय, विकास र सुशासनका पक्षमा स्पष्ट र निडर आवाज उठाउने व्यक्तित्वका रूपमा परिचित थिए।


न्यौपानेको निधनले तनहुँको राजनीतिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको स्थानीयवासी तथा शुभेच्छुकहरूले बताएका छन्। राजनीतिक दलभन्दा माथि उठेर सामाजिक उत्तरदायित्वमा सक्रिय रहँदै आएका न्यौपानेको असामयिक निधनले जिल्लाभर शोकको वातावरण सिर्जना भएको छ। उनको
पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दमौलीस्थित निवासमै राखिएको र अहिले साँझ दमौलीको मादी–सेती नदी संगमस्थल तलघाटमा अन्त्येष्टिका लागि लगिएको परिवारले जनाएको छ।


भौतिक पूर्वाधार निर्माणदेखि शैक्षिक विकाससम्म न्यौपानेले पुर्‍याएको योगदान जिल्लाका लागि स्मरणीय रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका उनले समाजले एक कुशल अभिभावक तथा विकासप्रेमी व्यक्तित्व गुमाएको अनुभूति गराएका छन्। स्वर्गीय न्यौपानेका एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्।
उनको निधनप्रति विभिन्न सामाजिक संघ–संस्था, राजनीतिक दलका नेता तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button