प्रहार समाचार । तनहुँ, ६ पुस २०८२ आइतबार । मानसिक शान्ति, सकारात्मक सोच र समग्र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ देशभर विश्व ध्यान दिवस मनाइँदा तनहुँको सदरमुकाम दमौलीमा पनि विशेष कार्यक्रम सम्पन्न भएको छ। विश्व ध्यान दिवस २०८२ का अवसरमा प्रदेश आयुर्वेद चिकित्सालय, दमौली तनहुँको आयोजनामा तनहुँ उद्योग वाणिज्य सङ्घको सभा हलमा आज ध्यान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले ध्यानलाई आजको व्यस्त जीवनशैलीमा मानसिक सन्तुलन कायम राख्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले तनाव, चिन्ता र असन्तोष बढ्दो अवस्थामा ध्यान र योगले समाजलाई सही दिशामा डोर्याउने बताए।
व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले नागरिकको स्वास्थ्य सुदृढीकरणमा ध्यान, योग र आयुर्वेदको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तहले पनि यस्ता जीवनोपयोगी अभ्यासलाई प्रवर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिए। उनले स्वस्थ नागरिक नै समृद्ध नगरको आधार भएको धारणा राखे।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ध्यानले व्यक्तिको आन्तरिक अनुशासन, सहनशीलता र सकारात्मक सोच विकास गर्न मद्दत गर्ने उल्लेख गर्दै यसले सामाजिक सद्भाव र शान्ति कायम गर्न पनि सहयोग पुर्याउने बताए।
प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका प्रमुख डा. नारायण श्रेष्ठले आधुनिक जीवनशैलीका कारण बढ्दै गएको मानसिक र शारीरिक समस्याको समाधानका लागि ध्यान र योग प्रभावकारी उपाय भएको स्पष्ट पारे। उनले आयुर्वेद उपचार पद्धतिमा ध्यानको विशेष महत्व रहेको बताउँदै यसलाई दैनिक जीवनमा अपनाउन आग्रह गरे।

कार्यक्रममा ब्रह्मकुमारी राजयोग विश्वविद्यालयकी यमुना दिदी र जीवन विज्ञानका अमर भण्डारीले ध्यान र योग सम्बन्धी प्रवचन दिएका थिए। उनीहरूले आत्मिक शान्ति, जीवन ऊर्जा र सकारात्मक सोच विकासका लागि नियमित ध्यान अभ्यास आवश्यक रहेको धारणा व्यक्त गरे।

ध्यान कार्यक्रममा पतञ्जली योग साधना केन्द्र का पदाधिकारीहरु, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विश्व ध्यान दिवसको अवसरमा सम्पन्न यस कार्यक्रमले ध्यान र योगलाई जीवनशैलीको अभिन्न अङ्ग बनाउने सन्देश दिएको सहभागीहरूले बताएका छन्।




























