हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

तनहुँको सत्यवती माविको स्वर्ण जयन्तीमा पूर्व विद्यार्थीको योगदान : विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य

प्रहार समाचार । तनहुँ, ६ पुस २०८२ आइतबार । तनहुँको व्यास नगरपालिका–२, दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयप्रति पूर्व विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व झल्किने कार्यक्रम सम्पन्न गरेका छन् । पूर्व विद्यार्थी मञ्च सत्यवती माविको आयोजनामा विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालय परिवारलाई लक्षित गरी ‘जनरल स्वास्थ्य परीक्षण तथा परामर्श शिविर’ सम्पन्न गरिएको हो ।


स्वास्थ्य क्षेत्रमा कार्यरत सत्यवती माविका पूर्व विद्यार्थी डाक्टर, नर्स तथा फार्मासिस्टहरूको सक्रिय सहभागिता र सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा ३ सय २० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक निःशुल्क औषधि वितरण गरिएको पूर्व विद्यार्थी मञ्चले जनाएको छ ।


कार्यक्रममा बोल्दै व्यास नगरपालिका–२ का वडाध्यक्ष एवं कार्यक्रमका संरक्षक काशिराम श्रेष्ठले विद्यालयको स्वर्ण जयन्तीलाई स्मरणीय बनाउँदै पूर्व विद्यार्थीहरूले समाजप्रति देखाएको सेवाभाव प्रेरणादायी भएको बताए । उनले यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ बलियो र दरिलो बनाउने उल्लेख गरे ।


कार्यक्रमको सभापतित्व गर्दै पूर्व विद्यार्थी मञ्चका अध्यक्ष पुष्प श्रेष्ठले विद्यालयबाट प्राप्त ज्ञान र संस्कारलाई समाज सेवामार्फत फर्काउन पाउँदा गर्व महसुस भएको बताए । उनले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ तथा प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले स्वर्ण जयन्तीको अवसरमा आयोजित स्वास्थ्य शिविरले विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष लाभ पुगेको भन्दै पूर्व विद्यार्थी मञ्चप्रति आभार व्यक्त गरे ।


कार्यक्रमका बारेमा जानकारी गराउँदै डा. अनिल गिरी र डा. अञ्जु थापाले समयमै स्वास्थ्य परीक्षण र परामर्शले रोगको प्रारम्भिक पहिचानमा सहयोग पुग्ने बताउँदै समुदायस्तरमा यस्ता शिविरको महत्व उल्लेख गरे । विद्यार्थी मञ्चका सचिव सुजन पण्डित, उपाध्यक्ष माधव न्यौपाने लगायतको सक्रिय समन्वयमा कार्यक्रम सफल भएको जनाइएको छ ।


शिविरमा डा. अनिल गिरी, डा. सुशील पौडेल, डा. केविन पौडेल, डा. सुरज श्रेष्ठ, डा. असीम वाग्ले, डा. हरिकला घिमिरे, डा. आशिष पौडेल, डा. रविन पण्डित, डा. अञ्जु थापा र डा. ममता वाग्लेले सेवा दिएका थिए । त्यसैगरी नर्स अस्मिता तामाङ, रेमना श्रेष्ठ, सुनिता श्रेष्ठ तथा फार्मासिस्ट अप्सरा अधिकारी, दामोदर भण्डारी, वसन्त श्रेष्ठ र राजेश क्षेत्रीको समेत सहभागिता रहेको थियो ।


कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, पूर्व विद्यार्थी मञ्च तथा सहयोगीहरूप्रति विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button