प्रहार समाचार । बुटवल, ४ पुस २०८२ शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज जेलमुक्त हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिंजो उनलाई धरौटीमा छाड्ने आदेश दिएपछि आज आवश्यक अदालती प्रक्रिया पूरा भएसँगै रिहाइ हुने तयारी भएको हो।

उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आदेश कार्यान्वयनका लागि आरोपी स्वयं अदालतमा उपस्थित भई कागजात बुझ्नुपर्ने कानुनी प्रक्रिया छ। रवि लामिछानेले अदालतबाट पुर्जी बुझेर जिल्ला अदालतमा आदेशको प्रतिलिपि बुझाएपछि मात्रै रिहाइ प्रक्रिया औपचारिक रूपमा सुरु हुन्छ।
सूचना अधिकारी कुँवरले भने, “आरोपी आफैं अदालतमा उपस्थित भएर पत्र बुझेपछि मात्रै आदेशअनुसार छुट्ने प्रक्रिया अघि बढ्छ। सोही प्रक्रिया पूरा भएपछि रिहाइ हुन्छ।” यसअनुसार लामिछाने आज उच्च अदालतमा उपस्थित भई कागजी काम सकेर जेलमुक्त हुनेछन्।
रास्वपा निकट स्रोतका अनुसार लामिछाने आजै हवाईमार्गबाट भैरहवा जानेछन्। । धरौटी आदेशपछि उनको रिहाइले समसामयिक राजनीतिक वृत्तमा चासो बढाएको छ ।



























