प्रहार समाचार । तनहुँ, २ पुस २०८२ बुधबार । २००७ सालको जनक्रान्तिदेखि प्रजातन्त्र पुनर्स्थापनासम्म निरन्तर संघर्षमा होमिएका प्रजातन्त्रका योद्धा तनहुँको व्यास नगरपालिका वडा नं – ५, पतेनी निवासी विष्णुप्रसाद वाग्लेको ९२ वर्षको उमेरमा हिंजो मंगलबार निधन भएको छ । राणा शाही निरंकुश शासनविरुद्ध बन्दिपुरबाट सुरु भएको उनको राजनीतिक यात्रा नेपाली लोकतान्त्रिक आन्दोलनको एक महत्वपूर्ण अध्यायका रूपमा स्मरणीय रहेको छ ।

वाग्ले २०११ सालको तिरो बन्दी आन्दोलन, २०१४ सालको भद्र अवज्ञा आन्दोलन, २०१८ सालको सशस्त्र क्रान्ति तथा २०२८ सालदेखि भूमिगत सशस्त्र संघर्ष र जनमत सङ्ग्रहसम्म सक्रिय रूपमा सहभागी थिए । २०१८ सालमा चितवनको भरतपुर क्षेत्र मुक्ति सेनाले कब्जा गरेपछि शाही सेनाद्वारा उनलाई पुनः गिरफ्तारीमा पर्नुका साथै उनको सम्पूर्ण जमिन जफत गरिएको थियो । कठोर दमन, जेल जीवन र आर्थिक क्षतिका बाबजुद पनि उनको राजनीतिक अडान कहिल्यै कमजोर भएन ।
कुनै औपचारिक पदमा नरहेर पनि नेपाली कांग्रेसलाई जिवन्त राख्न आजीवन समर्पित वाग्ले स्व. गोबर्द्धन शर्माका अनन्य क्रान्तिकारी साथीका रूपमा परिचित थिए । वाग्ले “गोबर्द्धन शर्मा स्मृति कोष” तथा तनहुँ प्रजातन्त्र सेनानी संघका अध्यक्षसमेत रहेको थिए । उनको उ योगदानले तनहुँ मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनलाई नै बलियो आधार दिएको नेताहरूको भनाइ छ।
संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पोख्रेलले वाग्लेको निधनप्रति शोक विज्ञप्ति जारी गर्दै प्रजातन्त्रका लागि उनले पुऱ्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन् । विज्ञप्तिमा पोख्रेलले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै स्व. विष्णुप्रसाद वाग्लेप्रति भावपूर्ण श्रद्धाञ्जली गरेका छन् ।
वाग्लेको निधनसँगै तनहुँले एक निष्ठावान, त्यागी र सिद्धान्तनिष्ठ प्रजातन्त्र सेनानी गुमाएको छ । वाग्लेको जीवन र संघर्ष भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने स्थानीय राजनीतिक वृत्तले जनाएको छ। उनको आजै दमौली स्थित मादी र सेती नदि घाटमा अन्तिम श्रद्धाञ्जली सहित दाह संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।



























