प्रहार समाचार । तनहुँ, १७ मंसिर २०८२ बुधबार । तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालनमा रहेका होटलहरूको सेवा तथा स्वच्छता स्तर वृद्धि गर्ने उद्देश्यसहित व्यापक गुणस्तर अनुगमन सुरु हुने भएको छ।

खाद्य गुणस्तर तथा नियन्त्रण कार्यालय तनहुँ, म्याग्दे गाउँपालिका र म्याग्दे उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा म्याग्दे गाउँपालिका भित्र पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालन भएका होटल तथा खाद्य व्यवसायको अनुगमन प्रक्रिया अगाडि बढाइएको छ। होटल व्यवसायलाई व्यवस्थित बनाउँदै ‘गुणस्तर चिन्ह’ प्रदान गर्ने लक्ष्यसहित अनुगमन गर्न लागिएको हो।

म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीको अध्यक्षतामा बसेको बैठकमा खाद्य गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्य, गाउँपालिकाको उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने, थर्पु प्रहरीका प्रमुख लगायत सरोकारवालाको सहभागिता थियो। बैठकले व्यवसायीलाई आवश्यक तालिम प्रदान गर्ने र त्यसपछि नियमित अनुगमन कार्य अघि बढाउने निर्णय गरेको छ।

“तालिममार्फत व्यवसायीलाई स्वच्छता, सुरक्षा तथा खाद्य गुणस्तरका मापदण्डबारे स्पष्ट जानकारी दिने र त्यसपछि गुणस्तर कायम गराउन सहजीकरण गर्नु मुख्य उद्देश्य हो,” खाद्य कार्यालय प्रमुख आचार्यले बताए। उनले गुणस्तर कायम भएको व्यवसायलाई मात्र चिन्ह प्रदान गरिने भएकाले अनुगमन कडाइका साथ हुने बताए।

























