प्रहार समाचार । काठमाडौं, १३ मंसिर २०८२ शनिबार । एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा मलेसियामाथि सानदार ९ विकेटको जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। यससँगै नेपालले यही डिसेम्बर १२ देखि २१ सम्म आयोजना हुने यू–१९ एसिया कपमा पनि आफ्नो सहभागिता पक्का गरेको हो।

शनिबार भएको खेलमा मलेसियाले दिएको ५२ रनको सामान्य लक्ष्य नेपालले ७ ओभर ५ बलमै सहज रूपमा पूरा गर्यो। ओपनर वन्श क्षेत्री २३ रनसहित अविजित रहे भने निञ्चल क्षेत्रीले १५ अविजित रन जोडे। निरजकुमार यादव भने ४ रन लिए । मलेसियाका मोहम्मद अक्रामले नेपालका एक मात्र विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया नेपाली बलरसामु १७ ओभर २ बलमै ५१ रनमा समेटिएको थियो। मम्जाह पंगीले १३ रन बनाएर टोलीलाई दोहोरो अंकमा पुर्याए पनि अन्य ब्याट्सम्यान नेपाली आक्रमण अगाडि टिक्न सकेनन्। नेपालका नितेशकुमार पटेलले घातक बलिङ गर्दै ४ विकेट हात पारे भने चन्दन रामले ३ विकेट योगदान दिए। पराजित पौडेल, अशोक धामी र रोशन विश्कर्माले एक–एक विकेट लिए।
अब नेपालले उपाधिका लागि युएई र ओमानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



























