हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा दुई सरकारी कार्यालय एकीकृत

प्रहार समाचार । तनहुँ, १३ मंसिर २०८२ शनिवार । गण्डकी प्रदेश सरकारले संरचनागत पुनर्संयोजन गर्दै सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयलाई एकीकृत गरेपछि तनहुँमा नयाँ संरचनामा सेवा संचालन प्रारम्भ भएको छ। मन्त्रालय पुनर्संरचनासँगै बनेको नयाँ कार्यालयको नाम “गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय” राखिएको छ।

प्रदेश मन्त्रिपरिषद्को सात निर्देशनालय खारेज गर्ने तथा विभिन्न निकाय समायोजन गर्ने निर्णयअनुसार दुवै कार्यालयलाई एउटै संरचनामा ल्याइए पनि भौतिक पूर्वाधार पर्याप्त नभएकाले तत्कालका लागि सेवाहरू पुरानै दुई स्थानबाट उपलब्ध गराइने कार्यालय प्रमुख बिदुरहरी आचार्यले प्रहार अनलाइनसँग बताए।

एकीकृत संरचनाअनुसार अहिले सामाजिक तथा शिक्षा शाखा साविक सामाजिक विकास कार्यालयकै स्थानबाट सञ्चालन भइरहेको छ भने योजना, प्रशासन, उद्योग तथा पर्यटन सेवा भने साविक उद्योग तथा पर्यटन कार्यालयको भवनबाट नै सेवा दिइरहेका छन्।

“एकीकृत सेवा एकै ठाउँबाट उपलब्ध गराउने लक्ष्य छ तर आवश्यक भवन, कक्ष र उपकरणको अभावले दुवै स्थानबाटै सेवा सञ्चालन गर्न बाध्य भएका छौँ,” आचार्यले भने।

प्रदेश सरकारले निकाय एकिकरणमार्फत प्रशासनिक खर्च घटाउने, सेवा सरल बनाउने र जनतासम्म छरितो रुपमा सरकारी सेवा पुर्‍याउने उद्देश्य राखेको छ। तर तनहुँमा पूर्वाधार अभावकै कारण एकीकृत सेवाको पूर्ण प्रभावकारिता तत्काल देखिन नसक्ने स्थानीयहरूले टिप्पणी गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button