हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको जलेश्वर महायज्ञ : धर्मशाला निर्माणका लागि १६ लाखभन्दा बढी संकलन

प्रहार समाचार । तनहुँ, ११ मङ्सिर २०८२ बिहीबार । तनहुँको । व्यास नगरपालिका–१, रतौलीमा सञ्चालन भइरहेको जलेश्वर महादेव मन्दिरको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अहिलेसम्म १६ लाख २७ हजार ७६२ रुपैयाँ दान संकलन भएको छ। मंसिर ६ गतेदेखि सुरु भएको महायज्ञमा भक्तजनको सहभागिता बढेसँगै दैनिक सहयोग रकम वृद्धि भइरहेको आयोजक समितिले जनाएको छ।

महायज्ञमा आज मात्रै मात्र ६ लाख ९१ हजार ७९६ रुपैयाँ संकलन भएको समितिले जानकारी दिएको छ। त्यसमध्येको सबैभन्दा ठूलो सहयोग सिर्जना आमा समूहले प्रदान गरेको हो। समूहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरेर महायज्ञकै सबैभन्दा उच्च सहयोगी बनेको रतौली टोल विकास संस्थाका अध्यक्ष तथा महायज्ञ संयोजक अभिमानसिंह बस्नेतले बताए।

मन्दिर परिसरमा बहुउद्देश्यीय धर्मशाला, होम कुण्ड तथा शिवलिङ्ग कुण्ड निर्माण गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको हो। करिब एक सयजना भक्तजन एकैपटक बस्न सक्ने सुविधायुक्त धर्मशाला बनाउने योजनामा दान रकम उपयोग गरिने संयोजक बस्नेतले स्पष्ट पारे। “जलेश्वर महादेवको मूर्ति स्तरीकरणसँगै धार्मिक पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य हो,” उनले भने।

पण्डित कपिलदेव भट्टले कथा वाचन गरिरहेको महायज्ञमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, नाटक तथा भजन–कीर्तन कार्यक्रमसमेत समावेश गरिएको छ। छाब्दी बाराही, बेदव्यासलगायत आसपासका धार्मिक क्षेत्र घुम्न आउने भक्तजनलाई खान र बस्ने समस्या हुने अवस्थालाई ध्यानमा राखी धर्मशाला निर्माण अपरिहार्य देखिएको प्रचार–प्रसार समितिका संयोजक दीपक बस्नेतले बताए।

महायज्ञको संरक्षणमा वडा कार्यालय समेत सक्रिय रहेको छ। पूर्वमन्त्री शंकर भण्डारीले ३० हजार, रामचन्द्र बस्नेतले २५ हजार, र जिङ्सी व्यवसायी डिलबहादुर दरैले ५५ हजार सहयोग गरेका महायज्ञ सल्लाहकार मणिजंग बस्नेतले जानकारी दिए।

स्थानीयवासीको सक्रियता र श्रद्धालुको समर्थनसँगै रतौली क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकसित गर्ने संकेत थप प्रबल बन्दै गएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button