प्रहार समाचार । तनहुँ, ११ मंसिर २०८२ बिहीबार । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख ई. विजयराज रेग्मी सरुवा भएको छ। उनको चितवन सरुवा भएको हो । बाग्लुङ वितरण केन्द्रबाट सरुवा भई आएका ई. पवन पौडेललाई नयाँ केन्द्र प्रमुखको रुपमा आज कार्यालयमा स्वागत गरिएको छ ।

बिदाइ कार्यक्रममा बोल्दै ई. रेग्मीले तनहुँ वितरण केन्द्रमा बिताएको समय आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण चरण भएको बताए । प्रारम्भिक ४ वर्षको नियुक्ति र पछिल्लो २६ महिनाको कार्यकाल मिलाएर ६ वर्षको अवधिमा विभिन्न पूर्वाधार तथा सेवा सुधारका काममा केन्द्रले उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको उनले बताए ।
उनका अनुसार फिडर अपग्रेड, लाइन विस्तार, क्षमता वृद्धि, ट्रान्सफर्मर जडान, काठका पोल प्रतिस्थापन, बाकी तथा कालोसूची रकम असुली, अव्यवस्थित संरचना सुदृढीकरणलगायतका काममा केन्द्र उल्लेखनीय रूपमा सक्षम बनेको छ । नियमित तथा गुणस्तरीय विद्युत् आपूर्तिका लागि मर्मत–सम्भारमा खटिने कर्मचारी, निर्माण व्यावसायी, नो–लाइट फ्युज सेवामा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीहरू प्रतिको आभार पनि उनले व्यक्त गरे ।
नेविप्राको उच्च व्यवस्थापन, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख, लेखा तथा प्रशासन प्रमुख, अन्य वितरण केन्द्रका प्रमुख, तनहुँ जिल्लाका संघ–प्रदेश सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, तनहुँ वितरण केन्द्रका कर्मचारी परिवार तथा सेवा ग्राहीले दिएको साथ–सहयोगले आफ्नो कार्यकाल सफल बनेको रेग्मीले बताए ।
ई. विजयराज रेग्मी भरतपुर वितरण केन्द्रतर्फ जिम्मेवारी सम्हाल्न जाँदै गर्दा तनहुँ वितरण केन्द्रले नयाँ प्रमुख ई. पवन पौडेल लाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरेको छ ।
























