प्रहार समाचार । तनहुँ, ११ मंसिर २०८२ बिहीबार । तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रमा सञ्चालनमा रहेका थोक तथा खुद्रा पसलहरूमा अनुगमन कडाइ गर्दै ४० माइक्रोनभन्दा कम गेजका प्रतिबन्धित प्लास्टिक जफत गरि आज नष्ट गरेको छ।

पालिकाले नगरको वडा नं–१, २ र ३ स्थित बजार क्षेत्रमा गरिएको निरन्तर अनुगमनका क्रममा प्रतिबन्धित प्लास्टिक बिक्री–वितरण हुँदैआएको पाएपछि अनुगमनलाई तिम्रता दिंदै आएको छ। नगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक रनसिं नेपालीको नेतृत्वमा गरिएको उक्त अनुगमनमा नगरपालिका आर्थिक ऐन २०८२ को दफा ११ बमोजिम सम्बन्धित व्यवसायीलाई तत्काल जरिवाना गरिनुका साथै जफत गरिएका सबै वस्तु आज नगरपालिका फोहर व्यवस्थापन स्थलमा नष्ट गरिएको थियो ।
नगरपालिकाले दैनिक बजार निरीक्षणमार्फत संकलन गर्दै ल्याइएका प्लास्टिक वस्तुहरूमा साना किराना तथा थोक पसलहरूबाट उल्लेख्य परिमाण भेटिएको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा सृष्टि प्लाष्टिक पसलबाट १ केजी, नसिम स्टोर्सबाट ३.९२२ केजी, महाकाली जनरल स्टोर्सबाट सबैभन्दा धेरै १२९.७ केजी, सूर्य प्लाष्टिक पसलबाट ३० केजी तथा ज्ञानमाला भाडा प्लास्टिक पसलबाट ८० केजी गरी २४४.६२२ केजी प्लास्टिक नष्ट गरिएको प्रशासकिय अधिकृत रामचन्द्र हड्खलेले जानकारी दिए ।
अनुगमन तथा नष्टिकरण प्रक्रियामा प्रशासकीय अधिकृत रामचन्द्र हड्खले, वडा नं. २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइका उप–सभापति शेषराज श्रेष्ठ, शाखा प्रमुख काजिमान गुरुङ, संचारकर्मी शंकरराज नहर्की तथा नगर प्रहरीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
व्यास नगरपालिकाले वातावरण संरक्षण तथा प्लास्टिकमुक्त बजार अभियानअन्तर्गत ४० माइक्रोनभन्दा कम गेजका प्लास्टिक पूरै प्रतिबन्धित रहेको जनाउँदै आगामी दिनमा अझ कडा अनुगमन गरिने चेतावनी समेत दिएको छ।
उ



























