हेडलाईनसमाचारगण्डकी

लैङ्गिक तथा डिजिटल हिंसा न्यूनीकरण लक्षित १६ दिने अभियान बेसीशहरबाट सुरू

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, ९ मंसिर २०८२ मंगलबार । “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नारासहित लमजुङको बेसीशहर नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि प्रारम्भ गरिएको छ। पहिलो दिन सदरमुकाम बेसीशहरमा चेतनामूलक र्‍याली तथा अभियानसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो।

अभियान बेसीशहर नगरपालिकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, एकीकृत सेवा कार्यालय, नगरपालिका स्तरीय महिला सञ्जाल, वल्र्ड भिजन इन्टरनेश्नल नेपाल, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि), सञ्चारिका समूह लमजुङ र कोशिश नेपालको सहकार्यमा सञ्चालन भइरहेको छ। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, महिला समूह, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले लैङ्गिक हिंसा रोकथाममा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय तहले समुदायसँग समन्वय गर्दै प्रभावकारी कार्यक्रम अघि बढाउने बताए। उपप्रमुख पद्यमा गुरुङका अनुसार अभियानको अवधि भरि विद्यालय तथा समुदायमा अभिमुखिकरण, परिसंवाद, सूचनामूलक जिंगल, अन्तरवार्ता लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक दिपेन्द्र डाँगी र कृष्ण विश्वकर्माले प्रविधिको विकाससँगै हिंसाका स्वरूपमा परिवर्तन आएको उल्लेख गर्दै डिजिटल सुरक्षा र साइबर साक्षरतामा सतर्कता अनिवार्य रहेको जानकारी गराए।

उपप्रमुख पदमा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकृतले स्वागत मन्तव्य दिए भने कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले गरेका थिए।

अभियानको उद्घाटन सत्रकै दौरान सहभागीहरूले कुनै पनि किसिमको लैङ्गिक हिंसा नगर्ने, पीडितलाई सहयोग गर्ने तथा हिंसा विरुद्धको अभियानमा निरन्तर साथ रहने प्रतिबद्धतासहित हस्ताक्षर गरेका हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button