• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, ९ मंसिर २०८२ मंगलबार । लमजुङमा यात्रुबाट अनियमित रूपमा बढी भाडा असूल्ने र सवारीमा भाडा सूची नै टाँस्न नसकेको जनगुनासो बढेपछि लमजुङ ट्राफिक प्रहरीले आज संयुक्त चेकजाँचमा १२ सार्वजनिक सवारी साधनलाई कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले बेशिसहर–३ रानिकुवामा यातायात व्यवसायी तथा व्यवसायी संघका पदाधिकारीको उपस्थितिमा ४५ वटा सवारी साधनको जाँच गरेको थियो। जाँचका क्रममा भाडा लिस्ट टाँस नगरी संचालन गरिएका १२ सवारी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम फस्र्यौट गरिएका हुन्।
प्रहरीका अनुसार यात्रुको हकहित सुरक्षित गर्न, सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र भाडादरको पारदर्शिता कायम राख्न यस्ता चेकजाँच निरन्तर चलाइनेछ।
यदि कुनै सवारी साधनले बढी भाडा असूल्ने, चालक–सहचालकले यात्रुमैत्री व्यवहार नगर्ने, आरक्षण सिटको उल्लंघन गर्ने, मापसे गरी सवारी चलाउने वा अन्य कुनै अनियमितता देखिएमा तुरुन्तै १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा खबर गर्न अनुरोध गरिएको छ।



























