प्रहार समाचार मसिर ९, मंसिर २०८२ मंगलबार । तनहुँको म्याग्दे गाउँपालिकाले ११औँ उद्योग दिवसको अवसरमा म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ। त्यस अबसमा वक्ताहरुले स्थानीय आर्थिक विकासमा उद्योगी–व्यवसायीको भूमिका अपरिहार्य रहेकोमा जोड दिए । पालिकामा आज आयोजित उक्त कार्यक्रमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले संघका अध्यक्ष सुन्दरमणि अधिकारीसहित अन्य सदस्यहरुलाई सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिव कोइराला, उपाध्यक्ष सूर्यबहादुर भुजेल, गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, आर्थिक विकास शाखाका प्रमुख प्रदिप न्यौपाने लगायत वक्ताहरूले म्याग्दे क्षेत्रको आर्थिक समृद्धिका लागि उद्यमशीलता प्रवर्द्धन अत्यावश्यक रहेकोमा जोड दिए। साथै, उद्योग–व्यवसाय विस्तार भएपछि रोजगार, आय–आर्जन तथा स्थानीय उत्पादनको मूल्यवृद्धि हुने भएकाले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने उनीहरूले बताए।
म्याग्दे उद्योग वाणिज्य संघमा हाल सुन्दरमणि अधिकारी अध्यक्ष, सुरेन्द्र अधिकारी उपाध्यक्ष, राजीव श्रेष्ठ महासचिव तथा खिमबहादुर नेपाली कोषाध्यक्ष रहेका छन्। संघका सदस्यहरूमा सीता मल्ल, गणेशमान श्रेष्ठ, खमबहादुर नेपाली, सुशील न्यौपाने, विकास नेपाली, धर्मराज घिमिरे, भूपेन्द्र रानाभाट, नारायण श्रेष्ठ, नुक्तबहादुर भुजेल, दिपक रोका, होमबहादुर भण्डारी, अमृता भट्टराई र सुशिल श्रेष्ठ छन्।
त्यस्तै, महिला उद्यमी विकास समितिको संयोजक मीनाकुमारी श्रेष्ठ, कृषि तथा पर्यटन विकास समितिका सभापति रामबहादुर थापा रहेका छन् भने सल्लाहकारमा तीर्थनारायण मल्ल, कमलनारायण मल्ल र शेरकुमार मल्ल रहेका छन्।

जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको संघलाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिव कोइरालाले अध्यक्ष सुन्दरमणि अधिकारीलाई पिन लगाएर प्रदेश सदस्यता हस्तान्तरणसमेत गरेका थिए।





















