प्रहार समाचार । तनहुँ, ९ मंसिर २०८२ मंगलबार । व्यास नगरपालिका, तनहुँमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि औपचारिक रूपमा सुरू भएको छ। “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ आयोजित उक्त अभियान २०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म (२५ नोभेम्बर–१० डिसेम्बर २०२५) सञ्चालन हुने भएको छ।

अभियानअन्तर्गत व्यास नगरपालिकाको नेतृत्वमा सामुदाय–प्रहरी साझेदारी, नेपाल प्रहरी, स्थानीय तहका प्रतिनिधि, सामुदायिक संस्था, विद्यालय तथा सामाजिक क्षेत्रका विभिन्न समूहहरुको सहभागितामा सचेतनामूलक र्याली निकालिएको थियो। सहभागीहरूले लैङ्गिक हिंसा, विशेषगरी डिजिटल दुरुपयोगका विरुद्ध विद्युतीय माध्यममै चेतना फैलाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले महिलामाथि हुने डिजिटल हिंसा पछिल्ला वर्षमा तीव्र रूपमा बढेकाले स्थानीय तहले समुदायसँग मिलेर रोकथाम तथा सहजीकरणका कार्यक्रम विस्तार गर्दै जाने बताए।
उप–प्रमुख इन्दिरा दुराले महिलालाई सशक्त पार्न डिजिटल साक्षरताको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै प्रविधिको सुरक्षित तथा जिम्मेवारीपूर्ण प्रयोगलाई प्राथमिकतामा राखिने बताइन्।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले समाजमा हुने हरेक किसिमका हिंसा नियन्त्रणका लागि सरकारी संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै समुदाय–प्रहरी सहकार्य नै दीगो समाधानको आधार हुने स्पष्ट पारे।

ज यस वर्षको अभियान अन्तर्गत विद्यालयस्तरका सचेतना कार्यक्रम, अन्तरक्रिया, परामर्श, अधिकार–सम्बन्धी तालिम तथा समुदायमा पहुँचमुखी गतिविधिहरू सञ्चालन गरिने बताइएको छ।



























