प्रहार समाचार । तनहुँ ८ मंसिर २०८२ सोमवार । तनहुँको नगरपालिका–१, रतौलीको जलेश्वर महादेव मन्दिरमा सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भक्तजनको उत्साहजनक सहभागिताका बीच अगाडि बढिरहेको छ । मंसिर १३ गतेसम्म चल्ने महायज्ञमा आइतबार दोस्रो दिन उल्लेख्य भीड देखिएको आयोजक समितिले जनाएको छ ।

रतौली टोल विकास संस्थाको आयोजनामा तथा सृजना आमा समूह र जलेश्वर मन्दिर संरक्षण समितिको सहआयोजनामा भइरहेको महायज्ञ पितृ मोक्ष धनधान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव नामक सांगीतिक तथा धार्मिक कार्यक्रमसहित सञ्चालन गरिएको हो ।
महायज्ञबाट संकलित दान–सहयोगबाट ८० देखि १०० जनासम्म अट्ने सुविधा सम्पन्न बहुउद्देश्यीय धर्मशाला निर्माण गरिने संस्थाका अध्यक्ष एवं संयोजक अभिमानसिं बस्नेतले बताए । उनका अनुसार जलेश्वर महादेवको मूर्ति स्तरीकरण, होमकुण्ड र शिवलिङ्ग कुण्ड निर्माणजस्ता संरचनाले मन्दिरलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
समुदायस्तरमा महायज्ञको भिजन सकारात्मक रूपमा प्रस्तुत भएपछि सहयोगको आश्वासन बढेको र यसले आयोजकलाई थप ऊर्जा दिएको संयोजक बस्नेतले बताए । महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा वाचन गर्ने कार्यक्रम रहेको छ भने दुईदेखि पाँच करोड रुपैयाँसम्म संकलन गर्ने लक्ष्य लिइएको छ ।
छाब्दी बाराही, बेदव्यासलगायतका धार्मिक स्थलमा पुग्ने भक्तजनलाई बस्न–खान समस्या देखिँदै आएकोले आगामी दिनमा धर्मशाला आवश्यक रहेको निष्कर्षपछि महायज्ञ आयोजना गरिएको आयोजक समितिको भनाइ छ । स्थानीय धार्मिक भूगोललाई समेटेर क्षेत्रीय धार्मिक पर्यटन विकास गर्ने ठूलो सम्भावना रहेको भन्दै प्रचार–प्रसारलाई घरदैलो तथा माइकिङमार्फत तीव्र बनाइएको प्रचारप्रसार समितिका संयोजक दीपक बस्नेतले जानकारी दिए ।

प्रत्येक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म पण्डित कपिलदेव भट्टको प्रवचन, कथा वाचनसँगै राष्ट्रिय कलाकारका नाटक तथा भजनकीर्तन प्रस्तुत भएको तथा भक्त जनहरुको उल्लेख्य उपस्थिति रहेको आयोजक समितिका सल्लाहकार एवं जनप्रतिनिधि मडिजंग बस्नेतले प्रहार समाचारलाई बताए गरिनेछ ।



























