हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगर कार्यपालिकाको २२६औँ बैठक : भूमि बैंकदेखि १६ दिने अभियानसम्म १३ महत्वपूर्ण निर्णय

प्रहार समाचार । तनहुँ, ७ मंसिर २०८२ आईतबार । तनहुँको व्यास नगरपालिका नगर कार्यपालिकाको नियमित २२६औँ बैठक आज नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा उप–प्रमुख ईन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरू सहभागी थिए। नगर प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष सुरेश श्रापाले सार्वजनिक गरेको विवरणअनुसार बैठकले सुशासन, विकास तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै १३ निर्णय गरेको छ ।

बैठकले सर्वप्रथम मिति २०८२/०७/१६ गतेका निर्णयहरू तथा हालसम्म नगरपालिकाले प्रदान गर्दै आएको सेवा प्रवाहको समग्र समीक्षा गरेको छ। सोही बैठकमा मंसिर ५ गते नगरपालिकाको मुख्य कार्यालय परिसरमा सम्पन्न पहिलो सार्वजनिक सुनुवाइको मूल्यांकन गर्दै व्यवस्थापनमा थप सुधार गर्ने तथा नागरिकले पेश गरेका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नगरपालिकाभित्र भूमि बैंक स्थापना गर्न हालै संशोधित भूमि सम्बन्धी नियमावली २०८२ अनुसार नेपाल सरकारसँग माग पेश गर्ने निर्णय पनि बैठकले गरेको छ। वार्षिक प्रगति विवरणका विषयमा छलफल गर्दै व्यास नगरपालिकाको हालसम्मको कुल आय २२ प्रतिशत पुगेको, भौतिक प्रगति २८.६२ प्रतिशत, चालु तर्फ २७.६८ प्रतिशत र पुँजीगत तर्फ ६.४२ प्रतिशत प्रगति भएको जानकारीसमेत बैठकले लिएको छ। यस आधारमा आय–व्यय व्यवस्थापनमा सबै संयन्त्र सक्रिय रहन निर्देशन दिइएको छ ।

सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत मंसिर १६ देखि २४ गतेसम्म ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गर्ने निर्णय गरिएको छ। अभियानको उद्घाटन मंसिर ९ गते र समापन मंसिर २४ गते दमौलीमा गर्ने तय गरिएको छ भने कार्यक्रम व्यवस्थापनका लागि उप–प्रमुख इन्दिरा दरैको संयोजकत्वमा नगर सभा सदस्यहरू सहितको समिति गठन गरिएको छ। यस्तै, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवससमेत उप–प्रमुखकै संयोजकत्वमा मनाइनेछ ।

ऊर्जा क्षेत्रमा योजनाबद्ध अग्रसरता बढाउने उद्देश्यसहित बैठकले ‘व्यास नगरपालिका ऊर्जा विकास उप–समिति गठन तथा सञ्चालन कार्यविधि–२०८२’ पारित गर्दै वडा नं. १ का अध्यक्ष रमेशचन्द्र हड्खेलको संयोजकत्वमा पाँच सदस्यीय उप–समिति गठन गर्ने निर्णय गरेको छ। साथै व्यास–५ को भागर क्षेत्रमा ढुंगा, गिटी–बालुवा उत्खननसम्बन्धी वातावरणीय अध्ययन प्रतिवेदन सुझावसहित स्वीकृत गरिएको छ ।

त्यसैगरी, तनहुँ विद्युत परियोजनाअन्तर्गत प्रसारण लाइनले प्रभावित वडाहरू—१, १२, १३ र १४—मा उद्यमशीलता तालिम सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकले नगरपालिकाबाट विद्युतीय बोलपत्रमार्फत आह्वान गरिएका छवटा ठेक्का स्वीकृत गर्ने निर्णयसमेत पारित गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावलीबारे बैठकमा विस्तृत जानकारी प्राप्त गर्दै, सो संशोधित नियमावलीअनुसार काम गर्न तथा गराउन सम्बन्धित सबै वडा समितिलाई निर्देशन दिइने निर्णय भएको छ। यस्तै, व्यास नगरपालिकाको ४४औँ नगरसभा मंसिर २५ गते बिहान ११ बजे दमौलीमा आयोजना गर्ने तय गरिएको छ ।

शैक्षिक गतिविधि सन्तुलनका लागि बैठकले अर्को व्यवस्था पनि गरेको छ। भिमादमा मंसिर १८ र १९ गते हुने सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यालयहरूको परीक्षा तालिकामा प्रभाव पर्न सक्ने भन्दै आन्तरिक परीक्षा मंसिर २१ गतेदेखि सुरु हुने गरी आवश्यक समन्वय मिलाउन नगर शिक्षा शाखालाई निर्देशन दिइएको नगर प्रवक्ता एवं वडा नं-९ का वडा अध्यक्ष सुरेश थापाले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button