प्रहार समाचार । तनहुँ, ६ मंसिर २०८२ शनिवार । समृद्ध र पारदर्शी प्रशासनिक प्रणाली निर्माणका लागि व्यास नगरपालिकाले नगरवासीको सुझाव र सहकार्यलाई मूल आधार बनाउँदै प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

पारदर्शी प्रशासन र समुन्नत पालिका निर्माणका लागि नागरिकको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन्। आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा सम्पन्न कार्यक्रम, विकास आयोजना, सुशासन तथा सेवा प्रवाहका विषयमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा शुक्रबार नगरपालिकाको परिसरमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले नीति, नियम र विधिलाई आत्मसात् गर्दै प्रभावकारी सेवा सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे ।

नगरप्रमुख न्यौपानेले व्यास नगरपालिकाले उल्लेख्य काम गरे पनि प्रभावकारी प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै, ‘नगरवासीलाई पारदर्शी र छिटो सेवा कसरी दिन सकिन्छ भन्नेमा हामी निरन्तर जुटिरहेका छौँ,’ भन्दै नागरिकबाट आएका गुनासालाई तत्काल सम्बोधन गर्ने नगरपालिकाको प्राथमिकता रहेको बताए ।
उपप्रमुख ईन्दिरा दरैले सार्वजनिक सुनुवाइलाई उत्कृष्ट अभ्यासका रूपमा वर्णन गर्दै नगरवासीको सुझावअनुसार नै नीति निर्माण र सेवा सुधार अघि बढाइने बताइन्। उनले सार्वजनिक सुनुवाइ प्रक्रियाले सेवाग्राहीको आवाज प्रत्यक्ष रुपमा निर्णयकर्तासम्म पुर्याउने भएकाले यसले प्रशासनिक उत्तरदायित्व अझ मजबुत बनाएको बताइन् ।

महासंघ तनहुँ शाखाले १४ वटै वडाका सेवाग्राही लक्षित गरेर गरेको मत सर्वेक्षणमा अधिकांशले व्यास नगरपालिकाको सेवा प्रवाह पछिल्लो समय सेवा–मैत्री बन्दै गएको प्रतिक्रिया दिएका थिए। सर्वेक्षणमा विश्वसनीयता कायम राख्न सोधिएका व्यक्तिहरूको नाम, ठेगाना, सम्पर्क नम्बर, हस्ताक्षर र फोटो समेत संलग्न गरिएको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले पहिलो चौमासिकको प्रगति सार्वजनिक गर्दै संघीय, प्रदेश र स्थानीय तहबीचको कानुनी जटिलताका कारण कर्मचारी व्यवस्थापनमा चुनौती देखिएको बताए। उनले करार कर्मचारीलाई संघीय मानकअनुसार व्यवस्थित गर्न नगरपालिका अघि बढिरहेको जानकारी दिए ।

सार्वजनिक सुनुवाइमा मंगलप्रसाद श्रेष्ठ, हरिमाया विक, ईश्वर पन्थ, मदन पौडेल, कविराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व उपाध्यक्ष तथा प्रहार अनलाइनका सम्पादक शंकरराज नहर्की, विष्णुबहादुर अधिकारीलगायतले पारदर्शी सुशासन, जवाफदेही प्रशासन र जनमुखी सेवा विस्तारमा नगरपालिका थप सक्रिय हुनुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रम महासंघ तनहुँका उपाध्यक्ष प्रताप रानाले सहजीकरण गरेका थिए भने कोषाध्यक्ष पूर्ण विकेले सर्वेक्षण नतिजा सार्वजनिक गरेका थिए। पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारीका अनुसार नगरवासीको गुनासा सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिसमक्ष पुर्याई सुशासन सुदृढ गर्न यस पटक पनि सार्वजनिक सुनुवाइ नगरपालिका कार्यालयको सहकार्यमा सफलतापूर्वक सम्पन्न गरिएको हो।































