प्रहार समाचार । काठमाडौ, ५ मंसिर काठमाडौँ महानगरपालिकाले देवीनगरस्थित ५ रोपनीभन्दा बढी सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गर्दै ‘स्पोर्ट्स पार्क’ निर्माण प्रक्रिया अघि बढाएको छ । महानगर प्रमुख बालेन शाहले सार्वजनिक सम्पत्ति सर्वसाधारणको पहुँचमा ल्याउने अभियान अन्तर्गत धोबीखोलाको करिडोरमा रहेको उक्त जग्गा फिर्ता लिएर आधुनिक खेल–पूर्वाधार निर्माणको काम सुरू भएको जानकारी दिएका छन् ।

काठमाडौँ महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउँदै सर्वसाधारणका उपयोगका लागि संरचना निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा वडा नं. १०, देवीनगरस्थित ५ रोपनी १० आना २ दाम क्षेत्रफलबाे जग्गामा ‘स्पोर्ट्स पार्क’ निर्माण थालिएको हो ।
धोबीखोलाको करिडोरमा पर्ने यो जग्गा निजी उपयोगमा रहेको थाहा पाएपछि २०८० साउन ४ गते महानगर प्रहरी बलको सहकार्यमा अतिक्रमणमुक्त गरिएको थियो । सो स्थानमा भोगचलन गर्दै आएकी पूर्वमन्त्री भद्राकुमारी घलेले महानगरको सार्वजनिक जग्गा खाली गराउने अभियानमा साथ दिँदै आफैँले संरचना हटाउन सहयोग गरेकी थिइन् । उनका सामान स्थानान्तरण गर्न महानगर प्रहरीले सहयोग पुर्याएको थियो ।
अतिक्रमणमुक्त सार्वजनिक जग्गालाई व्यवस्थित रूपमै सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यअनुरूप महानगरले यहाँ आधुनिक खेल सुविधा समेटिएको स्पोर्ट्स पार्क निर्माण गर्दैछ । करिब २ हजार ८८० वर्गमिटर क्षेत्रफलमा बन्ने पार्कको सम्झौता मूल्य (भ्याट र पीएस बाहेक) करिब १ करोड ९० लाख रुपैयाँ रहेको छ । निर्माणका लागि कात्तिक १८ मा कार्यादेश दिइएको र २०८३ कात्तिक १८ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पार्कभित्र खुला व्यायामशाला, १२८ वर्गमिटरको ब्याडमिन्टन कोर्ट, ९२८.५३ वर्गमिटरको फुटसल मैदान, महिला–पुरुष तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै शौचालय रहने व्यवस्था गरिएको छ । साथै ३११.८९ वर्गमिटर क्षेत्रमा दुवो रोपी हरियाली विस्तार तथा १६३ विरुवा र ३०० मौसमी फूल रोप्ने योजना छ । सुरक्षाका लागि पार्क वरिपरि पर्खाल समेत निर्माण गरिनेछ ।
पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँलगायतका बस्तीका स्थानीयले व्यायाम, खेलकुद, रमाइलो समय बिताउने तथा ज्येष्ठ नागरिकले टहलिने सुविधायुक्त स्थान पाउनेछन् । यसले स्थानीय सामाजिक सम्बन्ध, खेल क्षेत्रको विकास र सामुदायिक गतिविधि वृद्धि हुने महानगरको अपेक्षा छ ।
महानगरका अनुसार हालसम्म करिब १७१ रोपनी, झण्डै २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक जग्गा अतिक्रमणमुक्त गरिसकिएको छ । दीर्घकालीन योजनाअनुसार १ हजार ८५९ रोपनी १४ आना जग्गालाई फिर्ता ल्याई खुला स्थान विकास गरेर सर्वसाधारणको उपयोगमा ल्याउने लक्ष्य रहेको छ ।
महानगरले सार्वजनिक सम्पत्ति संरक्षण र व्यवस्थित विकासका लागि सरोकारवाला, स्थानीय समुदाय तथा सर्वसाधारण सबैको निरन्तर सहयोगको आह्वान गरेको छ ।



























