प्रहार समाचार । तनहुँ, २९ कात्तिक २०८२ शनिवार । तनहुँको व्यास नगरपालिका कार्यपालिका सदस्य तथा परिचित राजनीतिकर्मी चन्द्रमाया परियारले उमेर र जिम्मेवारीले अध्ययनको इच्छालाई रोक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गरेकी छन् । ३२ वर्षअघि कक्षा छोडेकी उनी पुनः नियमित विद्यार्थीको रूपमा कक्षामा फर्किएकी खबरले स्थानीय समाजमा उत्साह थपेको छ ।

२०७८ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षा पूरा गर्ने अभिलाषा झनै प्रबल बनेको चन्द्रमाया शुक्रबार व्यास–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तह (बीएड नेपाली) प्रथम वर्षमा हिंजो शुक्रवार भर्ना भएकी क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।
राजनीतिक जिम्मेवारी, परिवार र सामाजिक भूमिकाबीच समय मिलाएर फेरि कक्षाकोठामा फर्कनुलाई उनी जीवनको दोस्रो अवसरका रूपमा लिन्छिन्। “पढाइ कहिल्यै ढिलो हुँदैन,” भन्ने आत्मविश्वास बोकेकी चन्द्रमाया उच्च शिक्षाको यात्रा अब नियमित रूपमा निरन्तरता दिने बताउँदै भन्छिन्— “३२ वर्षपछि फेरि किताब र कक्षाकोठा समात्दा नयाँ ऊर्जा आएको छ, ज्ञानका लागि उमेर बाधा होइन।”
चन्द्रमाया परियारले २०८१ मा व्यास–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयबाट नेपाली विषय समूहमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्।
























