• विजय अधिकारी ( संवाददाता) प्रहार समाचार । लमजुङ, २८ कात्तिक २०८२ शुक्रवार । लमनुङको मर्स्याङदी नदीलाई सुरुङमार्फत मोडेर ५० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको भन्दै बेसीशहरका युवा र सामाजिक अभियन्ताहरू ‘मर्स्याङदी नदी र बेसीशहर बचाउ अभियान’ गठन गरी आन्दोलनमा उत्रिएका छन्। दिव्यज्योति हाइड्रोपावरले बेसीशहर–६ को बेलाउती बिसौनामा बाँध निर्माण कार्य सुरु गरेपछि यसले बजार, वातावरण र स्थानीय बस्तीमा खतरा पर्ने भन्दै उनीहरू आन्दोलित भएका हुन्।

राम थापाको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको छ र यसले नगरप्रमुख गुमानसिंह अर्याल तथा सीडीओ डा. टोकराज पाण्डेलाई ज्ञापनपत्र बुझाइसकेको छ। स्थानीयबासीलाई जानकारी नदिई मनोमानी ढंगले काम थालिएको र प्रभावित १, २, ३, ६, ७, ८, १० र ११ का बासिन्दाको हक अधिकार बेवास्ता गरिएको उनीहरूको आरोप छ।
अभियन्ताहरूका अनुसार प्रस्तावित बाँध र पावर हाउस क्षेत्र वरपर पहिले नै अन्य आयोजनाहरू रहेकाले मर्स्याङदी नदी निरन्तर सुरुङमा बग्ने अवस्था सिर्जना हुन लागेको छ। यसले बेसीशहरको मुख्य बजार क्षेत्र, कृषि भू–भाग, वातावरण तथा संस्कृतिमाथि गम्भीर असर पार्ने चिन्ता स्थानीयमा छ।
स्थानीयहरूले कानुनले शहर नजिक जलविद्युत् योजना निर्माण गर्न नहुने व्यवस्था उल्लङ्घन गरिएको दाबी गर्दै आन्दोलनलाई थप कडा बनाउन चेतावनी दिएका छन्। “विकास चाहिने हो, तर शहर उजाडिएर होइन,” भन्दै उनीहरूले चरणबद्ध आन्दोलनमार्फत आयोजना रोक्न सकिने घोषणा गरेका छन्।




















