प्रहार समाचार । तनहुँ, २८ कात्तिक २०८२ शुक्रवार । तनहुँका इन्जिनियर श्रीराम न्यौपानेको पहलमा तनहुँका ६ वटा विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरणसँगै ग्रामीण कक्षामा प्रत्यक्ष लाइभ पढाइ सुरु भएको छ। आधुनिक प्रविधि प्रयोगमार्फत ग्रामीण र शहरी शिक्षाबीचको दूरी घटाउने उद्देश्यले सुरु गरिएको स्मार्ट बोर्ड शैक्षिक सहकार्य कार्यक्रम मंगलबार म्याग्दे–४, थर्पुको श्री मीन माध्यमिक विद्यालयबाट औपचारिक रूपमा शुभारम्भ गरिएको हो। एलआरआई स्कूल, काठमाडौंबाट एक घण्टाको प्रत्यक्ष कक्षा प्रसारण भई मीन मा.वि.का विद्यार्थीहरूले सहरकै पढाइ गाउँमै बसेर अनुभव गर्न पाएका छन्।

६ विद्यालय, १० कक्षा—अब पढाइ सहरबाट गाउँमा प्रत्यक्ष :
कार्यक्रमअन्तर्गत तनहुँका ६ विद्यालयका कक्षा १० मा ६५ इन्चका आधुनिक स्मार्ट बोर्ड जडान गरिँदैछ। विद्यार्थीहरूले नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिकजस्ता प्रमुख विषयहरू लाइभ, अनलाइन र अफलाइन माध्यमबाट सिक्न पाउनेछन्। काठमाडौंका प्रतिष्ठित विद्यालय—एलआरआई, वृहस्पति शिक्षा सदन र NIST School—सँगको समन्वयमा ग्रामीण क्षेत्रमा पनि एकै संरचना अन्तर्गत गुणस्तरीय सामग्री र सहरका अनुभवी शिक्षकको प्रत्यक्ष शिक्षण उपलब्ध गराइने छ।
यस कार्यक्रमका लागि ६ विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र कम्प्युटर शिक्षकलाई थर्पुमा विशेष अभिमुखीकरण तथा प्रयोगात्मक तालिम प्रदान गरिएको छ ताकि स्मार्ट बोर्डको प्रभावकारी प्रयोग तुरुन्तै कक्षाबाट सुरू गर्न सकियोस्।
शिक्षामा गुणस्तर वृद्धि र नयाँ सिकाइ वातावरण :
स्मार्ट बोर्ड सञ्चालनबाट ग्रामीण विद्यार्थीले राजधानीका दक्ष र अनुभवी शिक्षकसँग प्रत्यक्ष पढ्ने अवसर प्राप्त गरेका छन्। समान पाठ्यक्रममा आधारित डिजिटल सामग्री कक्षामा प्रक्षेपण हुँदा सिकाइ सहज, स्पष्ट र आकर्षक बनेको छ। यसले सिकाइ वातावरणमा सक्रियता बढाउने, जटिल बुँदाहरू दृश्य–श्रव्य माध्यमबाट सरल रूपमा बुझ्न सकिने र शिक्षक–विद्यार्थीबीच द्विपक्षीय संवादमा वृद्धि हुने अपेक्षा गरिएको छ।

सामाजिक सहकार्य र ग्रामीण–शहरी खाडल घटाउने योगदान :
ग्रामीण क्षेत्रका विद्यालयले अब सहरजस्तै प्रविधिमैत्री कक्षाकोठाबाट पढाइ सञ्चालन गर्न सक्ने भएका छन्। यसले शिक्षामा समान पहुँच सुनिश्चित गर्दै शहरी–ग्रामीण अवसर–अन्तर कम गर्ने महत्वपूर्ण प्रभाव पार्नेछ। सहकार्य, साझेदारी र साझा सिकाइ संस्कृतिको विकास भई विद्यालय, अभिभावक र समुदायमा प्रविधिप्रतिको विश्वास र उत्साह अझै बढ्ने क्रम सुरु भएको स्थानीयले बताए।
प्राविधिक सीप र दिगो डिजिटल पूर्वाधारको विकास:
कार्यक्रमले शिक्षक तथा विद्यालयहरूलाई स्मार्ट बोर्ड, डिजिटल सामग्री र इन्टरनेट–आधारित सिकाइको अभ्यासमा दक्ष बनाएको छ। ग्रामीण विद्यालयमा डिजिटल पूर्वाधार उपयोग हुन थालेपछि प्रविधिको दिगो विस्तारका लागि आधारशिला निर्माण भएको छ। इन्टरनेटमार्फत अध्ययन सामग्री आदान–प्रदान, कक्षाबाटै प्रस्तुति, भिडियो सामग्री र लाइभ क्लास चलाउन सकिने हुँदा शिक्षण–सिकाइमा नयाँ आयाम थपिएको छ।
‘गाउँका बालबालिका पछि पर्नुपर्ने कुनै कारण छैन’ – इन्जिनियर न्यौपाने :

कार्यक्रमका सर्जक इन्जिनियर श्रीराम न्यौपानेले ग्रामीण शिक्षा प्रविधिमैत्री बनाउनु आफ्नो दीर्घकालीन लक्ष्य भएको बताए।
‘गाउँका बालबालिका पछि पर्नुपर्ने कुनै पनि कारण छैन। प्रविधि पुगेपछि सहरकै गुणस्तरीय पढाइ गाउँमै दिन सकिन्छ भन्ने विश्वासले यो काम सुरु गरेको हुँ ।’- इन्जिनियर न्यौपानेले प्रष्ट पारे । उनले स्मार्ट बोर्ड, जडान, तालिम र एक वर्षका सामग्री नि:शुल्क उपलब्ध गराउने कार्य आफूले सामाजिक जिम्मेवारीका रुपमा अघि सारेको प्रहार समाचारलाई जानकारी दिए । ब
६ विद्यालयलाई पहिलो चरणमा वितरण :
पहिलो चरणमा स्मार्ट बोर्ड प्राप्त गर्ने विद्यालयहरूमा
शिव सरस्वती मा.वि. (रिसिङ–८), श् सरस्वती मा.वि. (साभुङ, घिरिङ–५), मीन मा.वि. (थर्पु, म्याग्दे–४), पञ्चमुनिदेव मा.वि. (दुलेगौंडा, शुक्लागण्डकी–४), जनजुक्त शाही मा.वि. (साँगे, व्यास–५) र श सिद्धार्थ मा.वि. (किहुँ, भिमाद–१) —मा क्रमशः स्मार्ट बोर्ड जडान भइरहेको छ। हरेक विद्यालयका कम्प्युटर शिक्षकहरू तालिममा सहभागी भई कक्षामा प्रयोगका लागि तयार छन्।

प्रेरणादायी र विस्तारयोग्य मोडेल :
सहरको गुणस्तरीय शिक्षा गाउँसम्म पुर्याउने यो कार्यक्रम स्थानीयदेखि केन्द्रसम्म सबैका लागि प्रेरणादायी मोडेल बनेको छ। स्मार्ट बोर्डमार्फत कक्षा सञ्चालन सुरु भएपछि विद्यार्थीको सिकाइ परिणाममा सुधार आउने, डिजिटल माध्यमप्रति रुचि बढ्ने र ग्रामीण शिक्षा प्रणाली आधुनिक दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ। इन्जिनियर न्यौपानेले यो पहल तनहुँमा मात्र सीमित नभई भविष्यात अन्य जिल्लामा विस्तार गरी “सिंगो राष्ट्रको ग्रामीण शिक्षा प्रविधिमैत्री बनाउने अभियान” का रूपमा विकास गरिने विश्वास व्यक्त गरेका छन्।



























