हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँका ऐतिहासिक सम्पदामाथि व्यक्तिगत स्वामित्वको छायाँ : ढकालले गरे यस्तो सार्वजनिक आग्रह

प्रहार समाचार । तनहुँ, २६ कात्तिक २०८२ बुधवार । तनहुँका ऐतिहासिक धरोहरहरूमा निजी स्वामित्व र व्यापारिक प्रयोगको खबरले स्थानीय समाजदेखि इतिहासप्रेमीहरूमा रोष पैदा गरेको छ। सेनवंशी राज्यकालीन गढी, दरबार र टुँडिखेलजस्ता पुरातात्त्विक स्थलहरू व्यक्तिको नाममा दर्ता भएको र केही ठाउँमा व्यावसायिक संरचना निर्माण भइरहेको जानकारी सार्वजनिक भएपछि नागरिक सरोकार बढेको छ। यस्तै अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तनहुँका विद्यानाथ ढकालले प्रेस विज्ञप्ति जारी गर्दै सम्पदाको स्वामित्व राज्यमा फिर्ता गराउन र जिम्मेवार निकायले तत्काल सत्य तथ्य उजागर गर्न माग गरेका छन्। तस्बिरहरु : सामाजिक संञ्जाल

विज्ञप्तिमा ढकालले तनहुँ जिल्लामा रहेका तीन प्रमुख सम्पदाको अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन्। बन्दिपुर गाउँपालिका–४ मा रहेको ‘गढी’ (हाल निर्माणाधीन पाँचतारे होटल ‘बन्दिपुर हिल्स’ नजिकको थुम्को), व्यास नगरपालिका–११ तनहुँसुर दरबारसँगै उत्तरतर्फ रहेको ‘टुँडिखेल’ र भानु नगरपालिका–१३ मिर्लुङकोटमा रहेको पुरानो दरबारको भग्नावशेष माथि राखिएको दूरसञ्चार टावरबारे उनले गम्भीर चिन्ता व्यक्त गरेका हुन्। यी सम्पदाहरू सेनवंशी राज्यकालका ऐतिहासिक पहिचानका प्रतीक भएकाले राज्यकै स्वामित्वमा रहेर संरक्षण र अध्ययन हुनुपर्ने उनको भनाइ छ।


ढकालले कुनै पनि व्यक्ति, संस्था वा व्यापारिक प्रयोजनका लागि यस्ता सम्पदाको भोगचलन गर्नु राष्ट्रका गौरवमाथिको आघात भएको बताएका छन्। उनले सम्बन्धित गाउँपालिका, नगरपालिका र वडा कार्यालयहरूलाई तत्काल स्थलहरूको स्वामित्व विवरण सार्वजनिक गर्न र यस्ता सम्पदाहरू राज्यको नाममा पुनः दर्ता गर्न आग्रह गरेका छन्। साथै मिर्लुङकोट दरबार क्षेत्रमा रहेको दूरसञ्चार टावर अन्य उपयुक्त स्थानमा सार्न पनि उनले माग गरेका छन्।

ढकालले सम्पदाको संरक्षणका लागि स्थानीय बासिन्दा, विद्वान र अनुसन्धानकर्ताहरूलाई पनि आफ्नो ज्ञान र जानकारी साझा गर्न अनुरोध गर्दै भनेका छन्, – ‘राष्ट्रका अमूल्य सम्पदाहरू कुनै पनि हालतमा निजी स्वार्थका बलिबेदीमा चढ्न दिनु हुँदैन।’ उनले यस्ता ऐतिहासिक स्थलहरूको अध्ययन, पुनर्निर्माण र प्रचार–प्रसारलाई प्राथमिकता दिन सरकार र स्थानीय निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनका अनुसार, यी सम्पदाहरूको जगेर्ना गर्नु भनेको इतिहास, पहिचान र भविष्यको सम्मान गर्नु हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button