प्रहार समाचार । काठमाडौँ, २६ कात्तिक २०८२ बुधवार । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । ग पहिलो खेलमै नेपालले श्रीलङ्कालाई नौ विकेटको फराकिलो अन्तरले पराजित गर्दै विश्वकप अभियान उत्साहजनक रूपमा सुरु गरेको हो ।

टस हारेर फिल्डिङमा उत्रिएको नेपाली टोलीले श्रीलङ्कालाई २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रनमै रोक्यो । श्रीलङ्काका मिहिरानी दुलान्जलीले २३ र सान्दुनी सौमायाले १३ रन जोडे पनि अन्य खेलाडी नेपाली बलिङ अघि टिक्न सकेनन् ।
८८ रनको साधारण लक्ष्य पछ्याउन उत्रिएको नेपालले मात्र ५.२ ओभरमै खेल जित्यो । बलमा झड्का झड्कामा रन बटुल्दै ओपनर मनकेसी चौधरीले २२ बलमा अविजित ६१ रन प्रहार गर्दै टोलीलाई शानदार जित दिलाइन् । उनको इन्निङ्समा ११ चौका समावेश थियो । विनीता पुनले १३ रन र सुस्मा तामाङले अविजित ४ रन जोडेका थिए ।
विश्वकपको पहिलो खेलमै यस्तो प्रभावशाली जितसँगै दृष्टिविहीन महिला क्रिकेटमा नेपालको आत्मविश्वास चुलिएको छ । मनकेसीको चमकदार ब्याटिङले टोलीको जितमा मात्र होइन, नेपाली क्रिकेटको नयाँ आशा पनि जगाएको छ ।



























