प्रहार समाचार । तनहुँ, २४ कात्तिक २०८२ सोमवार । तनहुँको भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रमा सडक निर्माणका काम तीव्र भएपछि डुम्रे–बेसीशहर सडक खण्डको केही भागमा सवारी आवागमन आजबाट आंशिक रूपमा बन्द गरिने भएको छ।

डुम्रे–बेसीशहर–चामे सडक योजनाअन्तर्गत भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरेसम्म रोडवे एक्साभेसन (Roadway Excavation) कार्य गर्नुपर्ने भएकाले उक्त क्षेत्र २०७९ कार्तिक २४ गतेदेखि मंसिर ५ गतेसम्मका लागि आंशिक रूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्माण कार्यमा सहजीकरण र सम्भावित दुर्घटनाको जोखिम न्यूनिकरणका लागि तोकिएको अवधिभर सवारी आवागमन बन्द गरिनेछ। सडक बन्द हुने समय बिहान ६:३० देखि ९:०० बजेसम्म, बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म र दिउँसो २:०० देखि ४:०० बजेसम्म निर्धारण गरिएको छ।
सडक अवरुद्ध अवधिमा तुरतुरे–पालुंगटार–खत्रिटार हुँदै विमलनगर जाने वैकल्पिक रुट प्रयोग गर्न सकिने प्रशासनले जानकारी दिएको छ।
सडक बन्दका कारण यात्रुहरूलाई पर्न सक्ने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय तनहुँले क्षमा प्रकट गर्दै सार्वजनिक र निजी सवारी चालकहरूलाई निर्धारित समयअनुसार योजना बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठले आग्रह गरेका छन् ।




























