प्रहार समाचार । काठमाडौँ, २२ कात्तिक २०८२ शनिवार । नेपाल ट्रष्टको जग्गा लिज सम्झौतामा अनियमितता र ठगीमा संलग्न भएको आरोपमा पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। उनलाई ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको जनाएको छ ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालिबीचको लिज सम्झौतामा बदनियतपूर्वक कानूनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी पुर्याउने गरी सम्झौता गरेका थिए।
अनुसन्धानका क्रममा उनले सम्झौतामा उल्लेख भएको कित्ता नम्बर ४६०६ बाहेक थप रूपमा कित्ता नम्बर ४६०५ पनि समावेश गरी, ट्रष्ट संचालक समितिको निर्णय मोडेर तीन वर्षको निर्माण अवधि र ३० वर्षको लिज सम्झौता गरेको पाइएको प्रहरीले जनाएको छ।
नेपाल ट्रष्टको जग्गा व्यवस्थापनका नाममा सरकारी सम्पत्तिलाई निजी स्वार्थमा प्रयोग गर्न खोजिएको आरोपमा सुरु भएको अनुसन्धानका क्रममा कार्कीविरुद्ध कानूनी कारबाही अघि बढाइएको सीआईबीले जनाएको छ।
























