प्रहार समाचार । तनहुँ, २३ कात्तिक २०८२ आइतवार । मातृत्व स्वास्थ्य सुदृढीकरण र समावेशी सामाजिक सेवातर्फ तनहुँको व्यास नगरपालिकाले महत्वपूर्ण कदम चालेको छ। नगरपालिकाले दुई सय ९५ गर्भवती महिलालाई जनही पाँच हजारका दरले पोषण भत्ता वितरण गरी मातृ तथा शिशु स्वास्थ्य स्याहारमा योगदान पुर्याएको छ। तस्बिर : फाइल फोटो

नगरपालिकाको महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाका अनुसार गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत गत आर्थिक वर्षमा २ सय ४३ गर्भवतीलाई १२ लाख २५ हजार र चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ५२ जनालाई दुई लाख ६० हजार वितरण गरिएको हो।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक उत्तरदायित्व अन्तर्गत आथिक रुपले विपन्न गर्भवती महिलाहरुलाई आमा र स्वस्थ शिशु नै बलियो समाजको आधार निर्माणमा टेवा पुऱ्याउने उद्देश्यले पोषण भत्ता वितरण बताउँदै आएको बताए । नगरपालिकाले मातृत्व स्वास्थ्यमा लगानी गरेर भविष्यको पुस्ता सुरक्षित बनाउन योगदान गरिरहेको उल्लेख गर्दै नगर प्रमुख न्यौपानेले आगामी दिनमा यो कार्यक्रम अझ प्रभावकारी बनाइने समेत उल्लेख गरे ।

उप प्रमुख इन्दिरा दरैले गर्भवती बिपन्न महिलाको स्वास्थ्य तथा गर्भको बच्चा स्वास्थ्य जन्मियोस भन्ने उद्देश्यले पोषण भत्ता वितरण गरिएको बताइन्। । उप प्रमुख दरै भनिन् – ‘गर्भवती महिलाको स्वास्थ्य र पोषणमा गरिएको यो सहयोग केवल भत्ता वितरण होइन, उनीहरूको स्वास्थ्य जीवनस्तर सुधारतर्फको ठोस कदम पनि हो।’ उनले नियमित स्वास्थ्य जाँच र पौष्टिक आहारमा महिलालाई ध्यान दिन समेत आग्रह गरिन्।
यो कार्यक्रमले गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्ने, कुपोषण घटाउने र असुरक्षित सुत्केरी अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्य राखेको महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ। नगरक्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक स्वास्थ्य परीक्षण गराएकी गर्भवतीलाई आठ महिनापछि पोषण प्रोत्साहनका रूपमा पाँच हजार रुपैयाँ प्रदान गरिन्छ।
यसअघि गर्भवतीलाई नगदमै रकम वितरण गरिँदै आएकोमा अब डिजिटल प्रणालीमार्फत सुविधा उपलब्ध गराउने तयारी भइरहेको नगरपालिका स्रोतले जनाएको छ। व्यास नगरपालिकाको यो पहलले मातृत्व स्वास्थ्य सुदृढीकरण र समावेशी समाज निर्माणतर्फ नयाँ उदाहरण प्रस्तुत गरेको स्थानीयहरूले बताएका छन्।



























