प्रहार समाचार । काठमाडौँ, २१ कात्तिक २०८२ शुक्रवार । देशभर स्थिर मौसमको प्रभाव जारी छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाले अधिकांश स्थानमा आकाश खुला र मौसम सामान्यतया सफा रहेको छ। पछिल्ला केही दिनयता परिवर्तनशील मौसम देखिए पनि हालको अवस्थाले स्थायित्व लिएको विभागले जनाएको छ। त

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। यी क्षेत्रमा स्थानीय वायुप्रवाह र भू–आकृतिको कारणले हल्का बादलको विकास हुन सक्ने बताइएको छ। मौसमविद्हरूका अनुसार उक्त प्रदेशका हिमाली भेगमा आंशिक मौसमी प्रभावका कारण एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
यसबाहेक देशका अन्य भागहरू—मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतः सफा रहनेछ। खुला आकाशका कारण हावापानी चिसिँदै गएको छ भने बिहान–साँझको तापक्रम घट्ने क्रम पनि निरन्तर देखिएको विभागले जनाएको छ। विभागले हिउँद नजिकिँदै गर्दा चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन नागरिकलाई सुझाव दिएको छ।
























