प्रहार समाचार । अमेरिका , ६ कात्तिक २०८२ बिहीवार । अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीलाई आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मान्यता दिएको छ। सिटी काउन्सिलको निर्णय अनुसार अबदेखि प्रत्येक वर्ष दीपावली फोर्ट वर्थको वार्षिक सांस्कृतिक पर्वको रूपमा मनाइनेछ।

सिटी काउन्सिलले सहरको विविध सांस्कृतिक सम्पदालाई सम्मान गर्ने उद्देश्यले दीपावलीलाई औपचारिक रूपमा सूचीमा समावेश गरेको हो। यस निर्णयपछि नेपाली, भारतीय तथा अन्य दक्षिण एसियाली समुदायमा खुशीको लहर छाएको छ। उनीहरूले यो कदमलाई सहरमा बहुसांस्कृतिक सह–अस्तित्व र समुदायबीचको आत्मीयता बढाउने ऐतिहासिक निर्णयको रूपमा स्वागत गरेका छन् ।
दीपावली अन्धकारमाथि प्रकाश र असत्यमाथि सत्यको विजयको प्रतीक हो। फोर्ट वर्थमा यस पर्वको मान्यताले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई सहरकै उत्सवमा रूपान्तरण गरेको छ। अब प्रत्येक वर्ष दीपावलीका अवसरमा सहरभर सांस्कृतिक कार्यक्रम, दियो बाल्ने तथा मिष्ठान्न वितरणजस्ता गतिविधि आयोजना गरिने तयारी गरिएको छ।
यस ऐतिहासिक मान्यतासँगै फोर्ट वर्थले विविधता र एकताको सन्देशलाई उज्यालोको माध्यमबाट फैलाउने उदाहरण प्रस्तुत गरेको छ। नेपाली समुदायका लागि यो निर्णय गर्व र प्रेरणाको क्षण बनेको छ, जसले देखाउँछ — आफ्नो संस्कृति जहाँ पुगे पनि उज्यालोको चमक फैलाउन सकिन्छ।

























