• विजय अधिकारी (संवाददाता ) लमजुङ, ७ कात्तिक २०८२ बिहीवार । पर्वको उमंग र पारिवारिक भेटघाटको माहोलबीच लमजुङमा एक दुखद घटना घटेको छ। दशैंको रमाइलो देखि नै मामा घर आएका एक युवक घट्टे खोलामा मृत अवस्थामा फेला परेका छन्, जसले स्थानीयलाई स्तब्ध पारेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार, मृत फेला परेका व्यक्ति चितवन भरतपुर महानगरपालिका–१७ भुवन बस्तीका ३१ वर्षीय विकास परियार हुन्। उनको शव हिंजो दिउँसो मर्स्याङ्दी गाउँपालिका–८ स्थित घट्टे खोलाको बाटोमा भेटिएको थियो । ह
परियार दशैंको पूर्णिमाको भोलिपल्ट अर्थात असोज २२ गतेदेखि मर्स्याङ्दी गाउँपालिका–७ तरान्चेमा रहेका आफ्ना मामा आइतमान परियारको घरमा बस्दै आएका थिए। मामा परियारका अनुसार विकास बुधबार बिहान घरबाट हिँडेका थिए र दिउँसो मृत फेला परे। घटनाले परिवार र गाउँ दुबैलाई स्तब्ध पारेको छ ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको छ। मृत्युको कारणबारे अझै स्पष्ट विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।
चाडपर्वको द उल्लासमय पर्वका बीच घटेको यस घटनाले जीवनको अनिश्चितता र सावधानीको आवश्यकता प्रति सबैलाई सचेत गराएको छ। प्रहरीको अनुसन्धानबाट घटना कसरी र किन घट्यो भन्ने प्रश्नको उत्तर आउने अपेक्षा गरिएको छ।





















