हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

बंगलादेशको राजधानी ढाका विमानस्थलमा आगलागी : सबै उडान अनिश्चितकालका लागि अवरुद्ध

प्रहार समाचार । बंगलादेश, १ कात्तिक २०८२ शनिवार । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार दिउँसो अचानक भीषण आगलागी भएपछि सबै उडान सेवा अनिश्चितकालका लागि अवरुद्ध गरिएको छ।

विमानस्थलको मुख्य टर्मिनलमा प्रत्यक्ष असर नपरे पनि आगलागीबाट उठेको बाक्लो धुवाँले धावनमार्ग प्रभावित भएपछि उडानहरू अस्थायी रूपमा रोकिएका हुन्। द डेली स्टारका अनुसार, प्रभावित उडानहरूलाई वैकल्पिक विमानस्थलमा डाइभर्ट गरिएको छ।

बंगलादेश फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमका अनुसार, आगो नियन्त्रणमा ल्याउन ३७ वटा अग्निनियन्त्रक युनिट परिचालन गरिएको थियो। आगलागी नियन्त्रणमा सहजै नआएपछि थप सुरक्षा बलसमेत खटाइएको उनले जानकारी दिए। स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले आगलागीमा परेर कम्तीमा चार जना सामान्य घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन्।

अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिसकेको जनाउँदै अधिकारीहरूले विमानस्थल केही घण्टाभित्रै सञ्चालनमा आउने अपेक्षा व्यक्त गरेका छन्। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button