प्रहार समाचार । काठमाडौँ, ३१ असोज २०८२ शुक्रवार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार गत जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको परीक्षामा देशभरिबाट १४ हजार ९१० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९ हजार ४५६ विद्यार्थी परीक्षा उत्तीर्ण भएका छन्।

बोर्डले नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएका विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको आधिकारिक वेबसाइट (www.neb.gov.np) तथा नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी निर्देशनअनुसार थिचेर प्राप्त गर्न सक्ने जनाएको छ। त्यस्तै, एसएमएसमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।
नतिजा सार्वजनिकसँगै बोर्डले परीक्षाफलमा कुनै गुनासो भए तोकिएको समयसीमाभित्र पुनरावलोकनको लागि निवेदन दिन विद्यार्थीहरूलाई आग्रह गरेको छ। कक्षा ११ मा असफल भएका वा ग्रेड सुधार गर्न चाहने विद्यार्थीहरूका लागि आयोजित यो परीक्षा बोर्डको नियमित शैक्षिक कार्यतालिका अनुसार सम्पन्न भएको हो।




























