हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचारखेलकुद

नेपाल अपराजित रहँदै टी–२० विश्वकपमा : ऐतिहासिक सफलता

प्रहार समाचार । ओमान, ३१ असोज २०८२ शुक्रवार । ओमानमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले अपराजित रहँदै च्याम्पियनको उपाधि जितेको छ। अन्तिम खेलमा शुक्रबार नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगिताको विजेता बनेको हो। यस जितसँगै नेपालले सन् २०२६ मा भारत–श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा लगातार दोस्रोपटक स्थान सुरक्षित गरेको छ।

छनोट प्रतियोगितामा नेपालले खेलेका सबै ६ खेलमा जीत दर्ता गर्‍यो। सामोआविरुद्धको अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनायो। ओपनर असिफ शेखले ६९ रन, दीपेन्द्रसिंह ऐरीले ५३ रन र लोकेश बमले अविजित ३९ रनको योगदान गरे। जवाफी ब्याटिङमा सामोआ ७ विकेट गुमाएर ८७ रनमै सीमित भयो। नेपालले प्रतियोगिताको सबैभन्दा ठूलो रन अन्तर (१२४ रन) को जीत समेत दर्ता गर्‍यो।

बलिङतर्फ ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने करण केसीले २ तथा कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले एक–एक विकेट लिए। नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर–६ मा प्रवेश गरेको थियो। त्यहाँ यूएई, कतार र आयोजक ओमानलाई समेत हराउँदै नेपाल एक मात्र अपराजित टोली रहन सफल भयो।

यो सफलता नेपालको टी–२० क्रिकेट इतिहासमा विशेष मानिन्छ, किनकि नेपालले यसअघि दुईपटक (सन् २०१४ र २०२४) टी–२० विश्वकप खेले पनि छनोट प्रतियोगिताको उपाधि भने जित्न सकेको थिएन। यस पटक उपाधिसहित विश्वकपमा छनोट भएसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उचाइ छोएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button