प्रहार समाचार । तनहुँ, ३१ असोज २०८२ शुक्रवार । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित याञ्चोकटारमा स्थानीय महिलाहरु सयपत्री फूल खेतीमा जुटेका छन्। गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत सुरु गरिएको “सयपत्री फूल खेती कार्यक्रम”ले महिला लघु उद्यमीहरूलाई व्यावसायिक कृषिमा जोडेको छ ।

सयपत्री याञ्चोकटार महिला लघु उद्यमी समूहले कुल ५० रोपनी क्षेत्रफलमा फूलको खेती गरेको हो। समूहका अनुसार यस वर्षको सयपत्री उत्पादन सुरु भइसकेको छ भने पहिलो टिपाइ भोलीबाट सुरु हुने तयारी गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले स्थानीय महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको जानकारी दिए। “महिलाको सहभागिता र उत्पादन क्षमताले यो कार्यक्रम प्रभावकारी बन्ने देखिएको छ,” उनले बताए ।
कृषि विकास शाखाका प्रमुख सन्तोष के.सी.ले महिला समूहको सक्रियता प्रशंसनीय भएको उल्लेख गर्दै सहजीकरणका लागि पालिका स्तरबाट आवश्यक प्राविधिक र logistic सहयोग भइरहेको जानकारी दिए। यस कार्यक्रममार्फत महिलाहरुको आम्दानी वृद्धि हुनुका साथै फूलको स्थानीय बजारमा समेत आपूर्ति बढ्ने अपेक्षा गरिएको छ।



























