प्रहार समाचार । तनहुँ, २८ असोज २०८२ मङ्गलवार । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लामा हिंजो आज प्राय दिनै पिच्छे सवारी दुर्घटना हुन थालेको छ। खासगरी जिल्लाको औबुखैरेनी गाउँपालिकादेखि म्याग्दे गाउँपालिकासम्मको सडक खण्डमा बढि नै मात्रामा सवारी साधनहरु हुन थालेका छन् ।

चिल्लो र फराकिलो सडक बनेपछि तिभ्र गतिमा सवारीसाधनहरु चलाउनाले तथा जथाभाबी रूपमा यात्रुहरुले बाटो काट्ने तथा सडक ओरालो तथा घुम्ति भएकाले पनि दुर्घटना बढेको प्रहरीको भनाई छ ।
पछिल्लो समाचार अनुसार जिल्लाको बन्दीपुर गाउँपालिका–४, बिमलनगरस्थित पृथ्वी राजमार्गको सडक खण्डमा गत शनिवार बस र स्कुटर ठोक्किएर भएको दुर्घटनामा घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते मनोज गुरुङको असोज २७ गते राती ११:०० बजे उपचारकै क्रममा निधन भएको पुष्टि भएको हो । अर्का घाइते पुनराम गुरुङलाई तत्काल उपचारकालागि अस्पताल लगिएकोमा त्यही दिन (शनिवार) दिउँसो १:४८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ गइरहेको ग २६ प ९२८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गोरखा जिल्ला धार्चे गाउँपालिका–७ का २८ वर्षीय पुनराम गुरुङ (स्कुटर चालक) र ३२ वर्षीय मनोज गुरुङ (पछाडि सवार) गम्भीर घाइते भई लक्ष्मी सिटी अस्पताल डुम्रेमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि CMC (नयाँ) अस्पताल, भरतपुर चितवन रिफर गरिएको थियो। उनिहरुको उपचारको क्रममा मृत्यू भएको अस्पतालले जनाएको छ। भ
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण स्कुटर र बस ठोक्किएको हुन सक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।



























