प्रहार समाचार । काठमाडौँ, २७ असोज २०८२ सोमवार । पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध सुन तस्करीमा संलग्न भएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। चिनियाँ गिरोहसँग मिलेमतोमा भएको सुन तस्करीकाे अभियोगमा उनलाई भन्सार ऐन, संगठित अपराध निवारण ऐन र सुन नियन्त्रणसम्बन्धी ऐन अन्तर्गत मुद्दा चलाइएको हो। अभियोजन पक्षले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार मुद्दा सोमबार दर्ता भएको हो भने बयान तथा थुनछेकका लागि मंगलबारको मिति तय गरिएको छ। थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्नेछ ।
सुन तस्करी जस्तो गम्भीर मुद्दामा पूर्वसभामुखजस्तो पदमा रहेका नेताको संलग्नता देखिएको यो घटनालाई राजनीतिक सञ्जालभित्रको अपराधसँग जोडेर हेरिएको छ। यदि अदालतले धरौटी तोकेको खण्डमा सो रकम बुझाएर महरा रिहा हुन सक्छन्, अन्यथा उनी थुनामा रहनेछन्।






















