
‘मनले अझै स्वीकार गर्न सकिरहेको छैन। कर्तव्य बाँकी छन्, जिम्मेवारी अधुरा छन्। श्रीमानसँग जीवनका हरेक पल बाँड्ने, छोराछोरीको आवश्यकता परेको बेला उनीहरूलाई साथ दिन पाउने मेरो गहिरो इच्छा थियो। आफू सक्दो सहयोग गर्दै आएको समाजप्रति केही योगदान दिन अझै मन छ। तर समय र शरीरले साथ दिइरहेका छैनन्।’ – भन्दै क्यान्सर पिडित सरु दाहाल अधिकारी लेख्छिन् :
जीवन कहिल्यै स्थायी हुँदैन। कसैलाई यो सत्य छिट्टै भेटिन्छ, कसैलाई ढिलो। अहिले म क्यान्सरसँग जुधिरहेकी छु। दिनदिनै अवस्था गम्भीर बन्दै गएको छ, रिपोर्टहरू झनझन खराब आउँदैछन्। मसँग धेरै समय नहुन सक्छ भन्ने बुझ्दैछु, तर पनि यो वास्तविकतालाई सहजै स्वीकार्न सकिन। आशाको डोरी भने अझै मरेको छैन। जबसम्म सास चलिरहन्छ, तबसम्म आशा बाँकी नै रहन्छ। तर पनि, कहिलेकाहीँ मृत्यु आफैँ सामु उभिएर गिज्याइरहेजस्तो लाग्छ।
अहिले म भारतको राजीव गान्धी क्यान्सर अस्पताल, रोहिणी सेक्टर–५ मा उपचाररत छु। शरीरको प्लेटलेट्स सामान्यतः १ लाख ५० हजारदेखि ४ लाख ५० हजारबीच हुनुपर्ने हो, तर अहिले त्यो घटेर १० हजारमा झरेको छ। पटक–पटक सेतो रगत (platelet) चढाउँदा पनि सुधार देखिएको छैन। कहिले शरीरबाट रगत बग्ला भन्ने डरले दिनरात सताइरहेको छ। शरीरमा नीलडाम र त्यसका निशानहरू छरपस्ट छन्।
मनले अझै स्वीकार गर्न सकिरहेको छैन। कर्तव्य बाँकी छन्, जिम्मेवारी अधुरा छन्। श्रीमानसँग जीवनका हरेक पल बाँड्ने, छोराछोरीको आवश्यकता परेको बेला उनीहरूलाई साथ दिन पाउने मेरो गहिरो इच्छा थियो। आफू सक्दो सहयोग गर्दै आएको समाजप्रति केही योगदान दिन अझै मन छ। तर समय र शरीरले साथ दिइरहेका छैनन्।

यस्तो बेलामा आर्थिक समस्याले झनै चोट दिएको छ। मैले बचत गरेर सहकारीमा राखेको रकमसमेत पाउन सकिरहेकी छैन। संचालककै भाइले रकमको अपचलन गरेकाले त्यो अहिले फसिरहेको छ। रोगले शारीरिक रूपमा थला पारेको छ, अनि अन्यायले मानसिक रूपमा चिथोरेको छ।
क्यान्सर यस्तो रोग रहेछ — यसको उपचारको सफलता समयमै थाहा पाएकोमा निर्भर हुन्छ। सुरुको चरणमै थाहा पाउँदा धेरै हदसम्म नियन्त्रण सम्भव हुन्छ, तर चौथो चरण नाघेपछि अवस्था गम्भीर बन्छ। म विगत १५ वर्षदेखि नियमित फलोअपमा थिएँ, तर रोग फेरि बल्झियो।
नेपालमा क्यान्सरबारे जनचेतना फैलाउन मैले पनि सकेको भूमिका निर्वाह गरेकी छु। कास्की शाखामा सहसचिवको रूपमा अर्बुद रोग निवारण केन्द्रमा काम गरेँ। त्यस्तै, थाहा फाउन्डेसनको अध्यक्षको रूपमा हजारौं महिलाहरूको स्तन र पाठेघर परीक्षणमा सहयोग गरेँ। त्यतिबेला लाग्थ्यो — मैले ठूलो काम गरेँ, आमाहरूलाई बचाउन पाएँ।
आज म स्वयं बिरामीको भूमिकामा छु। जति बेला अरूको जीवनका लागि लडिरहेकी थिएँ, अहिले आफ्नै जीवनका लागि लडिरहेकी छु। मलाई विशेष सहयोग बी.पी. कोइराला क्यान्सर अस्पताल भरतपुर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट प्राप्त भएको छ। भक्तपुर क्यान्सर अस्पतालले समेत जनचेतनामूलक कार्यहरूमा सहयोग गरिरहेको छ। यस्ता संस्थाहरूको भूमिका सराहनीय छ। सरकारले पनि यस्ता रोगहरूबारे अझ गम्भीर ध्यान दिनु आवश्यक छ।
क्यान्सर बिरामीका लागि उपचार मात्र होइन, मनोबल पनि अत्यन्त जरुरी हुन्छ। रोग लागेपछि होइन, रोग लाग्न नदिनका उपायहरू पहिल्यै अपनाउनु बुद्धिमानी हो। सुरुमा पत्ता लाग्यो भने जीवन बचाउन सकिन्छ। क्यान्सर एक व्यक्तिको मात्र समस्या होइन, उसँगै जुडिएको पूरा परिवारको पीडा हुन्छ। यो कुरा मैले हरेक पल महसुस गरेकी छु।
अहिले म फोन वा म्यासेन्जर कलहरू उठाउन सक्दिनँ। तपाईंहरूले गर्नुभएको कल र सन्देश मेरो लागि अमूल्य छन्, तर धेरै बोल्न सक्दिन। तपाईंहरूको मप्रति प्रार्थना, माया र शुभकामनाहरू नै मेरो शक्ति हुन्। म निको भएँ भने, यी सबै कुरा तपाईंहरूसँग प्रत्यक्ष भेटेर भन्न चाहन्छु। म पनि त्यसैको प्रतीक्षामा छु।
•दाहाल अधिकारी अहिले राजीव गान्धी क्यान्सर अस्पताल, रोहिणी सेक्टर–५, भारतमा उपचारार्थ छन्। (सम्पादक )



























