हेडलाईनसमाचारप्रदेश

हमासको बन्दी बनाइएका नेपाली युवक विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीको पुष्टि

प्रहार समाचार । काठमाडौँ, २७ असोज २०८२ सोमवार । इजरायलको हमास आक्रमणमा परेका नेपाली युवक विपिन जोशी अब जीवित नरहेको पुष्टि इजरायली अधिकारीहरूले गरेका छन्।

दुई वर्षअघि किबुज आलुमिमबाट अपहरणमा परेका जोशीबारे इजरायली प्रधानमन्त्री कार्यालय र सेनाका अधिकारीहरूले अमेरिकामा रहेका उनकी आमा र बहिनी तथा नेपालमा रहेका आफन्तलाई औपचारिक जानकारी दिएका हुन्। इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, जोशीको मृत्युको पुष्टि भए पनि उनको शवबारे अझै कुनै यकिन जानकारी प्राप्त भएको छैन।

२०८० असोज २३ गते हमास समूहले इजरायली क्षेत्रबाट विपिन जोशीलाई अपहरण गरेको थियो। अपहरणपछिको केही महिनासम्म उनी जीवित रहेको देखिने भिडियो सार्वजनिक भए पनि त्यसयता उनको अवस्थाबारे केही पुष्टि हुन सकेको थिएन। हाल आएर इजरायली अधिकारीहरूले दुःखद खबर सार्वजनिक गरेका छन्, जसअनुसार विपिन अब जीवित छैनन्।

इजरायली सेनाले हाल हमासको कब्जामा रहेका २० बन्दीहरूलाई फिर्ता गराउने प्रक्रिया अघि बढाएको छ। तर विपिनको शव अझै फेला नपरेको र फिर्ता हुनेहरूमा उनी नपरेको राजदूत पण्डितले जानकारी दिएका छन्। परिवारजन र नेपाली समुदायमा विपिनको निधनको खबरले गहिरो शोक छाएको छ ।

उता विपिनका दाजु किशोर भन्छन्, “हमासले अझै केही बन्धक छोड्न बाँकी छ। आज पनि युद्धविरामको क्रममा केही रिहा हुँदैछन्। इजरायलसँग कुरा हुँदा पनि त्यो स्पष्ट भएको छ। त्यसैले हामी अझै आशावादी छौं — भाइ फर्किन्छ भन्ने आशा मरेको छैन।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button