प्रहार समाचार । तनहुँ, २७ असोज २०८२ सोमवार । जिल्लाको म्याग्दे गाउँपालिका–१, तल्लो गुणादीस्थित पृथ्वीराजमार्गमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन्। पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा.प्र.०२–०५१ प ९३४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। ठोक्किएलगत्तै मोटरसाइकलमा आगो लागेर सवारी पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा धादिङ गल्छि गाउँपालिका–४ का १९ वर्षीय चालक निश्चल अधिकारी र नुवाकोट बिदुर नगरपालिका निवासी २३ वर्षीय प्रदीप नेपाल घाइते भएका छन्। अधिकारीको दुबै हात र खुट्टामा चोट लागेको छ भने नेपालको बायाँ गाला र नाकमा चोट लागेको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको छ।
घाइतेहरूलाई तत्काल उपचारका लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















